सार्वजनिक गाडीको यात्रा : एक सिट छोडेर बस्ने भनेका थिय तर उभिनी ठाउ पनि रहेन

काठमाण्डौ – ‘पढायो पढायो पाठ, सोह्र दुना आठ’ भन्ने उखान यतिबेला सार्वजनिक गाडीलाई ठ्याक्कै मिलेको छ । सरकारले स्वास्थ्य मापदण्ड पालना गर्न भनिरहेको छ, तर कानमा तेल हालेर नसुनेको झैं गर्दैछन् कतिपय गाडीवाला ।

कोरोनाको सङ्क्रमण केही कम हुन थालेपछि गएको असार २६ गते सरकारले सार्वजनिक गाडी चलाउने निर्णय गर्यो । त्यसअघि छिटो गाडी चलाउन पाउनु पर्यो भन्दै ज्ञापनपत्र बुझाउने व्यवसायीले सरकारको निर्णयलगत्तै गाडी चलाएनन् । माग र अडान तेर्स्याएर बसे ।

पछि केही कम्पनीका गाडी गुड्न थाले । बुधबारदेखि लकडाउन हटेपछि भने सडकमा सार्वजनिक गाडीको संख्या बढेको छ । सरकारले सिट संख्याको आधा मात्रै यात्रु राख्न तथा स्वास्थ्यसम्बन्धी अरु मापदण्ड पालना गरेर मात्र गाडी चलाउन भनेको छ । तर केहीबाहेक धेरै गाडीवालाले यसलाई बेवास्ता गरेका छन् ।

लकडाउन हटेपछि आफ्नो साधन नभएका धेरै जना सार्वजनिक यातायात चढ्न बाध्य छन् । सुरुमा खाली देखेको बस चढ्यो । अर्को बिसौनी पुग्दा नपुग्दै बस भरिभराउ हुन्छ । अझ यात्रुलाई उभ्याएरै पनि यात्रा गराइन्छ । कार्यालय समयको बेलामा त कुनै-कुनै गाडीमा खुट्टा राख्ने ठाउँ पनि हुँदैन ।

सिट क्षमताको आधी मात्रै यात्रु राख्न पाइने भएकाले सरकारले ५० प्रतिशतसम्म बढी भाडा लिन पाइने नियम बनाएको छ । तर खचाखच यात्रु राख्ने गाडीवालाले दोब्बरसम्म भाडा लिने गरेका छन् ।

आफ्नै अधिकारका लागि आफैं बोलौँ

तपाईं हामीमध्ये धेरै जना सार्वजनिक गाडीमा यात्रा गर्दा दुई पाँच रुपैयाँमा के किचकिच गर्ने भन्दै चुप लाग्छौँ । न्यूनतम १३ रुपैयाँ भाडा हुँदा पनि चुप लागेरै १५ रुपैयाँ भाडा बुझाउने हामी नै हौँ । अहिले त झन् अवस्था नै फरक छ ।

‘चार महिनापछि गाडी चलाएका छौँ दोब्बर भाडा त लागिहाल्छ नि, हामीले चाहिँ तेल खर्च जुटाउन पर्दैन ?’ भन्ने चालक/सहचालक कड्किनासाथ हामी मुन्टो हल्लाउँदै -हो त भन्छौँ, भाडा तिर्छौँ’ । तिमीले यसो गर्न पाउँदैनौ भनेर कहिल्यै भन्दैनौँ । यसको फाइदा जहिल्यै सार्वजनिक गाडीले उठाइरहेका छन्, उठाउँदै छन् ।

प्रतिक्रिया दिनुहोस