‘म आफैं जान्छु भनेकी थिएँ। होइन म पुर्‍याइदिन्छु भनेपछि मोटरसाइकलमा बसें,’

शुक्रबार बिहान कीर्तिपुर अस्पतालमा पुग्दा पवित्रा कार्की बेड नम्बर ३१५ मा पल्टिरहेकी थिइन्। सलले अनुहार छोपेकी उनका दुबै हातमा मेहन्दी थियो। हातमा पो साउन महिना धेरै महिलाले लगाउने मेहन्दी थियो तर उनको अनुहारमा भने घाउ थियो। उनको कुनै गल्ती बिना नै कसैले उनको अनुहारमा एसिड छ्यापेर घाउ बनाइदिएको थियो।

बिहीबार साँझ पवित्रा दही चिउरा किन्न कोठाबाट निस्किइन्।

बाटोमा जाँदाजाँदै उनको छेउमै एउटा मोटरसाइकल रोकियो। त्यो मोटरसाइकलमा उनका पहिलाका साहु मोहम्मद आलम थिए।

तीन वर्षदेखि पवित्राकी दिदी आलमको डल्लुस्थित गार्मेन्ट कम्पनीमा काम गरिरहेकी छन्। दिदीले पवित्रालाई पनि सोही कम्पनीमा काम लगाएकी थिइन्। एक महिना उक्त कम्पनीमा काम गर्दा आलमसँग उनको चिनजान भयो। पवित्राले आलमलाई दाइ भन्थिन्।

‘साझँपख केटीमान्छे कसरी जान्छौ,’ आलमले पवित्रालाई मोटरसाइकलमा बस्न भने।

‘म आफैं जान्छु भनेकी थिएँ। होइन म पुर्‍याइदिन्छु भनेपछि मोटरसाइकलमा बसें,’ पवित्राले शुक्रबार बिहान कीर्तिपुर अस्पतालको शैयाबाट सेतोपाटीसँग भनिन्।

मोटरसाइकल चढेर उनीहरू डेरीमा पुगे। नजिकैको अर्को पसलमा चिउरा पनि किने। उनीहरूले सँगै खाजा खाए।

केहीबेरअघि ‘एक्लै कहाँ जान्छौं, म पुर्‍याइदिन्छु’ भनेका आलमले फर्किँदा घरसम्म ल्याएनन्। बीच बाटोमै मोटरसाइकलमा ब्रेक लगाए। उनले झर त भनेनन् पवित्रा आफैं कुरा बुझेर कोठातिर लागिन्।

रातको आठ बज्न लागेको थियो। कोठातिर जाँदा पवित्राले बाटोमा एक अपरिचित युवकलाई देखिन्। उनी भित्तातिर फर्केर बसेका उभिएका थिए। नदेखेझैं गरी पवित्रा अगाडि बढिन्। त्यत्तिकैमा त्यो मान्छेले उनीमाथि एसिड छ्याप्यो।

‘ती व्यक्तिलाई नदेखे जसरी अगाडि जाँदै थिएँ। त्यत्तिकैमा झ्याप्पै उसले मलाई केही कुराले हान्यो,’ उनले भनिन्।

पवित्राले केही समयसम्म त आफूलाई के भएको हो भन्ने चाल पाइनन्।

‘मैले घाँटीमा सिक्री लगाएकी थिएँ। त्यसैले त्यसको लागि ममाथि आक्रमण गरेको वा मेरो अपहरण गर्न लागेका होला भन्ने सोचें,’ उनले भनिन्,’ एकछिनमा मलाई एकदम पोल्यो। म दिदी, दिदी… भन्दै चिच्याउन थालें। सुँघाएर बेहोस पार्छ भन्ने सुनेकी थिएँ मलाई पनि त्यही गर्न लागे चिच्याएपछि कोही आएर बचाउलान् भन्ठानेर बेस्सरी कराउन थाले।’

Source-Rato pati

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस