१० करोड क्षतिपुर्ति माग्दै भुवनले हाले साम्राज्ञीविरूद्ध मुद्दा

अभिनेता भुवन केसीले अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहविरूद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेका छन्।

शुक्रबार दिउँसो उनले १० करोड क्षतिपुर्ति माग गर्दै शाहविरूद्ध मुद्दा दर्ता गरेको अदालतका सूचना अधिकृत ज्ञानबहादुर कार्कीले जानकारी दिए।

केसीले निवेदनमा आफूलाई साम्राज्ञीले बेइज्जत गरेको उल्लेख गरेका छन्।

‘विभिन्न पत्रपत्रिका, अनलाइन र युट्युब च्यानलमा साम्राज्ञीले आफूलाई यौन दुर्व्यवहारको मिथ्या आरोप लगाएर बेइज्जत गरेको भन्दै अभिनेता भुवन केसीले मुद्दा दर्ता गर्न ल्याउनु भएको थियो, दर्ता भएको छ,’ सूचना अधिकारी कार्कीले सेतोपाटीसँग भने।

अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले फिल्ममा काम गर्ने क्रममा आफू दुर्व्यवहारको शिकार भएको बताएकी थिइन्। केही समयअघि सामाजिक सञ्जाल ‘इन्स्टाग्राम’ मा भिडिओ पोस्ट गर्दै उनले उक्त कुरा सार्वजनिक गरेकी थिइन्।

उनले अहिलेसम्म आठवटा फिल्ममा काम गरेकी छिन्। तीमध्ये तीनवटामा नराम्रो अनुभव भोग्नुपरेको उनको भनाइ थियो।

आफूमाथि भएका दुर्व्यवहारका घटना बाहिर नल्याउन पटक-पटक दबाब आउनुका साथै घटना सार्वजनिक गरे फिल्मी करिअर नै खत्तम पार्दिने डरसमेत देखाइएको उनले भिडियोमा भनेकी थिइन्भ।

‘मैले १७ वर्षको उमेरमै चलचित्र क्षेत्रमा डेब्यू गरेँ। त्यति बेला नेपाली चलचित्र क्षेत्र सानो भएकाले सबै कुरा बाहिर ल्याउनु हुँदैन भनियो,’ उनले भिडिओमा भनेकी थिइन्, ‘यहाँ जसको शक्ति छ, उसैले यो क्षेत्र नियन्त्रणमा लिएको हुन्छ। यस्तो बेला म भर्खर चलचित्रमा आएको मान्छेले यो कुरा बाहिर ल्याउँदा मेरो लागि ढोका बन्द हुन्छ भनेर सम्झाउँथे।’

आफूले विश्वास गरेको र अभिभावकझैं मान्ने नजिकको मान्छेले नै त्यस किसिमको हर्कत गरेको उनको भनाइ थियो।

‘अंकलजस्तो उमेरको मान्छेलाई त्यही भनेर सम्बोधन गर्दा ‘दाइ’ भनेर बोलाऊ भन्थे,’ उनले भनेकी थिइन्, ‘कामको विषयमा केही कुरा गर्नुपरे गालामा टाँसिएर बोल्न आउँथे। त्यो कुरा अलि पर बसेर भन्न सकिँदैन थियो र?’

‘मलाई त्यतिबेला नै भित्रबाट घिन लागेको थियो, तर हाँसेरै बोलिदिएँ। मेरो परिवारलाई फिल्म क्षेत्रको विषय केही ज्ञान छैन। मैले पनि त्यतिबेला यो कुरा नजरअन्दाज गरेँ तर आखिरमा सबैको असली रूप बाहिर आएको छ।’

साम्राज्ञीले भुवन केसी निर्माता रहेको ‘ड्रिम्स’ बाट नेपाली चलचित्र क्षेत्रमा डेब्यू गरेकी थिइन्। उनी भुवनकै छोरा अनमोल केसीसँग पहिलोपटक पर्दामा देखिएकी थिइन्। उक्त फिल्म व्यावसायिक रूपमा सफल भयो। यसबाट चलचित्र क्षेत्रमा अगाडि बढ्न प्रोत्साहन मिले पनि सँगसँगै खुट्टा तान्ने मान्छेहरूको सामना गर्नुपरेको उनले बताएकी छन्।

प्रतिक्रिया दिनुहोस