पछिल्लो समय नेपाल सङ्क्रमितमा लक्षण देखिन थाल्याे

काठमाडौँ, साउन १० गते । कोभिड–१९ को लक्षण देखिएका सङ्क्रमित भेटिन थालेका छन् । पहिले ९८ प्रतिशत सङ्क्रमितमा लक्षण नभएका पाइएका थिए भने अहिले देखिने नयाँ सङ्क्रमितमा कोभिड–१९ का लक्षण देखिन थालेको हो ।

अहिले नयाँ सङ्क्रमितमा लक्षण देखिन थालेको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका कार्यकारी निर्देशक डा वासुदेव पाण्डेले जानकारी दिनुभयो । आजभोलि देखिएका सङ्क्रमितमा रुखाखोकी लाग्ने, श्वासप्रश्वासमा समस्या, थकाइ लाग्ने, जीउ थाक्ने, स्वाद र गन्ध थाहा नपाउने जस्ता समस्या देखिन थालेका छन् ।

उहाँका अनुसार हालै काठमाडौँ उपत्यकामा देखिएका १६ मध्ये नौ जनामा लक्षण देखिएको छ । “पहिले देखिएका सङ्क्रमितमा लक्षण देखिएको थिएन”, उहाँले भन्नुभयो, “तर अहिले देखिएका सङ्क्रमितमा कोभिड–१९ का लक्षण देखिन थालेका छन् ।”

लक्षण देखिएका सङ्क्रमित भेटिन थालेपछि सतर्कता अपनाउनुपर्ने सुझाव दिइएको छ । सरकारले यही साउन ७ गतेदेखि बन्दाबन्दी खुलेसँगै सङ्क्रमणको जोखिम बढेकाले स्वास्थ्यका मापदण्ड अपनाउन चिकित्सकले सुझाव दिएका छन् ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा सागरराज भण्डारीले भर्ना भएका बिरामीमध्ये एक तिहाइमा लक्षण भएका सङ्क्रमित भएको बताउनुभयो । अस्पतालमा अहिले २४ जना बिरामीमध्ये आठजना कोभिड–१९ का लक्षण देखिएका सङ्क्रमित रहेका छन् । उहाँका अनुसार ती बिरामीमा कसैलाई ज्वरो, रुघाखोकी, जीउ थाक्ने, श्वास फेर्न समस्या जस्ता लक्षण देखिएका छन् । “अन्य ठाउँभन्दा यहाँ बढी नै लक्षण भएका सङ्क्रमित उपचार गराउन आउँछन्”, उहाँले भन्नुभयो, “ती कतिपय सङ्क्रमितलाई सघन उपचार कक्ष ९आइसियु० र भेन्टिलेटरमा राखेर उपचार गराइरहेका छौँ ।”

प्रतिक्रिया दिनुहोस