‘उसले मलाई एसिड हान्न लगायो होला भन्ने सोचेकी पनि थिइनँ’

शुक्रबार बिहान कीर्तिपुर अस्पताल पुग्दा पवित्रा कार्की बेड नम्बर ३२१ मा पल्टिरहेकी थिइन्। उनको दुवै हातमा साउनको मेहन्दी थियो। अनुहार भने गम्लङ्ग सलले ढाकेकी थिइन्।
उनी हातको मेहन्दी त सबैलाई देखाउन सक्छिन्, तर अनुहार देखाउन सक्दिनन्। उनको अनुहारमा बिहीबार साँझ मात्र तेजाब छ्यापिएर ठूलो घाउ बनेको छ।
पवित्रा दही-चिउरा किन्न कोठाबाट निस्केकी थिइन्। बाटोमा जाँदाजाँदै उनको छेउमै एउटा मोटरसाइकल रोकियो। मोटरसाइकलमा उनको पहिलेका साहु मोहम्मद आलम थिए।

तीन वर्षदेखि पवित्राकी दिदी डल्लुस्थित आलमको गार्मेन्ट कम्पनीमा काम गरिरहेकी छन्। दिदीले पवित्रालाई पनि सोही कम्पनीमा काम लगाएकी थिइन्। एक महिना उक्त कम्पनीमा काम गर्दा आलमसँग उनको चिनजान भयो। पवित्राले आलमलाई दाइ भन्थिन्।
‘साझँपख केटीमान्छे कसरी जान्छौ?’ आलमले पवित्रालाई मोटरसाइकलमा बस्न भने।

‘म आफैं जान्छु भनेकी थिएँ। होइन म पुर्‍याइदिन्छु भनेपछि मोटरसाइकलमा बसेँ,’ पवित्राले शुक्रबार बिहान कीर्तिपुर अस्पतालको शैयाबाट सेतोपाटीसँग भनिन्।
मोटरसाइकल चढेर उनीहरू डेरीमा पुगे। नजिकैको अर्को पसलमा चिउरा पनि किने। उनीहरूले सँगै खाजा खाए।

केही बेरअघि ‘एक्लै कहाँ जान्छौ, म पुर्‍याइदिन्छु’ भनेका आलमले फर्किँदा घरसम्म ल्याएनन्। बीच बाटोमै मोटरसाइकलमा ब्रेक लगाए। उनले झर त भनेका थिएनन्, तर पवित्रा आफैं कुरा बुझेर कोठातिर लागिन्।

प्रतिक्रिया दिनुहोस