युवतीसँग विहे गरेर अमेरिका जाने लोभमा ठगिए युवा

काठमाडौं । आफूहरुलाई डिभी परेको र बिहे गरेर अमेरिका लैजाने आश्वासन दिई ठगी गर्ने दुई युवतीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । महानगरीय अपराध महाशाखाको टोलीले शुक्रबार बाग्लुङ काठे गाउँपालिका–२ घर भइ भक्तपुर बस्ने २७ वर्षीया कोपिला शर्मा र १९ वर्षीया अमिसा केसीलाई नियन्त्रणमा लिएको हो ।

उनीहरूले विभिन्न व्यक्तिहरूलाई फेसबुक, टिकटक मार्फत फलो गर्ने र बिहे गरेर अमेरिकाको क्यालिफोर्निया लैजान्छु भन्दै करिब ६ लाख ६० हजार ठगी गरेको महाशाखाले जनाएको छ । ठगी गरेर उनीहरू रूपन्देहीको बुटवल एरियामा लुकिछिपी बसेका थिए । थप कारबाहीको लागि महाशाखाले महानगरीय प्रहरी वृत्त, ठिमीमा पठाएको छ ।

महाशाखाको प्रारम्भिक अनुसन्धान अनुसार उनीहरूले विभिन्न सञ्चार माध्ययममा युवाहरूलाई फलो गर्ने र ‘म तपाईको फ्यान हो’ भन्दै रिक्वेस्ट एसेप्ट गर्न बाध्य बनाएको खुलेको छ । कोपिला शर्माले आफू अमेरिकाको डिभी होल्डर भएको र अहिले लकडाउनका कारण नेपालमा डिपार्टमेन्टल स्टोर सञ्चालन गर्दै आएको पिडितलाई बताउने गरेकी थिइन् ।

त्यही स्टोर सञ्चालन गर्न पैसाको आवश्यक परेको र पार्टनर बनाउने भनी पटक पटक गरी ५ लाख ठगी गरेकी थिइन् । उनीहरूले त्यसै गरी थप एक लाख ६० हजार समेत ठगेका थिए ।

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस