‘ऋण काढेर किनेको चामल उर्लेको भेलमा ज्यान फालेर जोगाएँ, तर खानै पाइएन’

उनले भेलको भुल्कोमा चामलसहित तीन-चार डुबुल्की मारे। चामल र उनी दुवै बगे। तै पनि उनी हारेनन्।

खोल्सोमा खस्नै लागेको आफू र चामल दुवैलाई जोगाए। र, बोरासहित किनार लाग्न सफल भए। 

यो भिडिओ खगेन्द्र गाहामगरले टिकटकमा राखेका थिए। भिडिओको कारूणिक दृश्यले धेरैको मुटु सिरिंग बनायो।

खोलाको भेलमा ज्यान बाजी राखेर चामल जोगाउने बाध्यता परेका यी व्यक्ति को हुन् भनेर हामीले सोधीखोजी गर्‍यौं। उनी रहेछन् बिजुलीसमेत नपुगेको दाङ, बंगलाचुली गाउँपालिकाका दिलबहादुर गाहामगर। उनी राप्ती गाउँपालिका र बंगलाचुली गाउँपालिका जोड्ने खहरे तर्दै गर्दा यो घटना भएको हो। 

‘म २५ किलो चामलको बोरा बोकेर तर्दै थिएँ, बगायो। तलपट्टि ठूलो खोल्सा थियो, ठुल्ठूला ढुंगा थिए,’ २२ वर्षे दिलबहादुरले सेतोपाटीसँग कुरा गर्दै त्यो दिनको घटना सम्झे, ‘एकछिन उठ्न नसकेको भए त कहिल्यै नउठ्ने रहेछु।’

उनका अनुसार यो खहरे हिउँदमा सामान्य हुन्छ, पानी देख्न पनि मुश्किल। तर हरेक बर्षामा उर्लिन्छ र खोला नतरी नहुने धेरै गाउँलेका लागि काल समान बन्छ। 

अरू गाउँलेझैं ज्यान माया मारेर खहरे तर्नु र दैनिकी चलाउनु दिलबहादुरको पनि बाध्यता हो।

‘बर्खा लागेपछि यस्तै बाध्यता हो। एक दुई-दिन भए पो झन्झट मान्नु,’ उनी भन्छन्, ‘बाढीमा ज्यान जोगाएर बाँच्नु हाम्रो दैनिकी हो। त्यस दिन पनि साउने भेलमा खुट्टा कमाएर बस्नु ठीक लागेन। सधैं तरेकै खोला हो भनेर भेलमा हेलिएँ।’ 

उक्त भिडिओ खिच्ने खगेन्द्र दिलबहादुरका भतिजा हुन्। त्यो दिन दिलबहादुर र खगेन्द्र चामल किन्न देविकोट पसल आएका थिए। जंगलको बाटो तीन घन्टा पैदल हिँडेपछि किनमेल गर्ने पसलको अनुहार देख्न पाइन्छ।

‘हाम्रो गाउँमा बत्ती त पुगेको छैन, पसल त खै कहिले आउने हो,’ उनी अत्यास मान्दै भन्छन्, ‘घरमा दालचामल सकिएपछि पसल गएका थियौं।’

बजार जाँदा पानी परेको थिएन। फर्कंदा खहरे भेल बनिसकेछ। ढुंगापात सोहोरेर बगिरहेको थियो। पसलबाट घर पुग्दा बाटामा त्यस्तै सातवटा खहरे छिचोल्नुपर्ने। सानातिना खोला-खोल्सी उनीहरूले आँखा चिम्लेर तरेका थिए। त्यो खोला पनि तर्छु भन्ने लागेको थियो उनलाई।

भतिजा खगेन्द्रलाई भने तर्ने हिम्मत आएन। उनी दिनभर कुरेर भए पनि खहरे घटेपछि तर्ने भनेर अडिए। दिलबहादुर पनि पानी घट्छ कि भनेर आधा घन्टा पर्खिए। वर्षातको मौसम, कहाँ भर हुन्थ्यो र! खोला घट्ने छाँट देखिएन।

‘तँ नजाने भए यहीँ बस्, बरू भिडिओ गर। यो भारी राखेर तेरो भारी लिन आउँला,’ खगेन्द्रलाई यति भनेर दिलबहादुर खोलामा पसे।

दिलबहादुरले भनेपछि खगेन्द्रले मोबाइलले भिडिओ खिच्न थाले। काकालाई खोलाले पल्टाएपछि भिडिओ खिच्ने कि उद्धार गर्ने, उनी दोधारमा परे। भिडिओ लिन पनि बन्द गरेनन्।

‘खोला घट्ला भनेर आधा घन्टा पर्खियौं, अझै बसौं भन्दा मान्नुभएन। भोक लागेर हातखुट्टा काम्न थालेको थियो। खोला नतरी पनि भएको थिएन,’ खगेन्द्रले भने, ‘उहाँ अलि आँटिलो, बलियो हुनुहुन्छ। तर्नुहोला भन्ने लाग्यो। काकाले भनेको मानेर वारि नै बसेँ।’

तर्ने बेलासम्म खहरे र दिलबहादुरको घम्साघम्सी परिरह्यो। कहिले चामलको बोरा खोलाले बगाउन खोज्थ्यो, कहिले दिलबहादुरलाई। खगेन्द्र वारि बसेर विवशतापूर्वक हेर्दै थिए। काकालाई रोक्न नसकेकोमा पछुतो पनि भएको थियो उनलाई।

‘काका लड्नु भयो, चामलको भारी बगायो। भारी टिप्न खोज्दा त उहाँलाई झन्डै खोल्सामा पुर्‍याएन भेलले। बरू चामल बग्न दिएको भए उहाँलाई केही हुँदैनथ्यो होला,’ त्यो दिनको दृश्य सम्झेर खगेन्द्रको मन अहिले पनि थर्थराउँछ।

दिलबहादुरले कसरी चामल बग्न दिन्थे र! दुई सन्तानका बुवा उनलाई जहानबच्चाको पेट भर्नुछ। बिहान ७ बजे घरबाट निस्कँदा चामल लिएर आउने विश्वास दिलाएका थिए।

गरिबी पन्छाउन नसकेका दिलबहादुरका दुःख यति मात्रै भए त चामलको बोरा माया मार्थे पनि होला। तर, उनले चामल किन्नकै लागि भनेर साहुसँग १५ सय ऋण काढेका रहेछन्। त्यसैले ज्यानकै माया मारेर उर्लेको भेलमा चामल जोगाएका थिए।

‘लड्छु जस्तो लागेकै थिएन, सजिलै बगाउन दिने कुरा पनि भएन,’ दिलबहादुर खोलाले पल्टाउँदाको क्षण सम्झन्छन्, ‘त्यही लिन त ४ घन्टा धाएको, बगायो भने के गर्नु जस्तो लाग्यो।’

चामल र आफू दुवैले भेल जिते पनि उनलाई खुसी मिलेन। चामल भिज्यो।

‘महिनाभर पुर्‍याउन ल्याएको चामल एकछाक मात्रै खान पायौं,’ उनले भने, ‘ऋण काढेर किनेको २५ किलो चामल खोलामै गए बराबर भयो। भिजेको चामल भोलिपल्टै सड्न थाल्यो। सबै बिग्रेला भनेर गाईबाख्रालाई खुवाएँ। भेलबाट जोगाउन त सकेँ तर बालबच्चालाई खुवाउन पाइनँ।’

अहिले उनको चार जनाको परिवार आँटोपिठोमा चलेको छ।

‘लकडाउनमा बसेर खाँदा, खेती लगाउँदा घरमा भएको सकिहाल्यो, ऋण गरेर ल्याएको चामल पनि गाईलाई खुवाउनुपर्‍यो। गाउँमा सापटी लिएर गएको थिएँ, तिर्न सकेको छैन,’ उनी भावुक सुनिए।

उनी र उनका गाउँलेले गाउँबेसी गोठालो गर्दा दिनमा १० वटा खोलाखोल्सी तर्नुपर्छ। त्यही खोलाले बगाउला भनेर उनले कसरी जान्नु! तै उनी पनि निराश छैनन्।

‘माथिबाट ढुंगा आएर खुट्टामा नलागेको भए तर्न सकिहाल्थेँ नि!’ उनको बोलीमा दृढ विश्वास झल्किन्छ।

यो भिडिओ खगेन्द्रको टिकटकमार्फत् सार्वजनिक भएपछि धेरैले दिलबहादुरलाई सहानुभूति दिए, खिच्ने खगेन्द्रले भने ‘यसरी बगाउँदा के हेरेर बसेको’ भन्दै गाली खाए।

‘मान्छेले त मलाई गाली गरिरहेका छन्, भिडिओ खिच्नू भनेर काकाले नै भन्नुभएको थियो। म उहाँलाई उठाउन जाँदा मलाई नै बगाउँथ्यो,’ खगेन्द्रले भने, ‘खोलाले लडाउँदा त अहो बगायो जस्तो लागेको थियो। तर पारि पुगेर त काका पनि हाँस्न थाल्नुभयो।’

उनले टिकटकमार्फत् नै ‘यो घटनालाई ठूलो विषय नबनाउन’ अनुरोध गरेका छन्।

उनले थपे, ‘काकाको खुट्टामा लागेको रहेछ, तै पनि दुई जना त वारिपारि बसेर आधा घन्टा हाँस्यौं। अझै पनि भिडिओ हेर्दा हाँसो लाग्छ। दुःख पनि लाग्छ।’

हाँसो थामिएपछि खगेन्द्र र उनको भारी पनि दिलबहादुरले नै तारिदिएको उनले जानकारी दिए।

अहिले भिडिओ चर्चित बने पनि सार्वजनिक नगरेको भए हुन्थ्यो जस्तो लागेको छ खगेन्द्रलाई। अर्कातिर आफ्नो गाउँको दुःख अरूले महशुस गर्दा खुसी पनि लागेको बताउँछन्।

भन्छन्, ‘यो हाम्रो दैनिकी नै हो। जंगलको बीचमा पुल हाल्दे भनेर कसलाई भन्न जानू।’

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस