साम्राज्ञी भन्छिन्ः मैले साँचो बोलेकी छु, भुवन केसीले १० करोडको मुद्दा हाले पनि डराएकी छैन

गत साता अभिनेता भुवन केसीले १० करोड रूपैयाँ क्षतिपूर्ति माग्दै अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहविरूद्ध मुद्दा हाले।

साम्राज्ञीले विभिन्न पत्रपत्रिका, अनलाइन र युट्युब च्यानलमा आफूलाई यौन दुर्व्यवहारको मिथ्या आरोप लगाएर बेइज्जत गरेको भन्दै भुवन केसीले जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेका थिए।

साम्राज्ञी भने मुद्दै परे पनि आफूले काम गर्दा भोग्नुपरेका दुर्व्यवहारबारे बोलेर गल्ती नगरेको र आफू कत्ति नडराएको बताउँछिन्।

मंगलबार सेतोपाटीसँग कुरा गर्दै उनले भनिन्, ‘आफू काम गर्न जाने ठाउँमा सहज वातावरण होस् भन्ने सबैको अपेक्षा हुन्छ। मलाई भने डेब्यु फिल्मको सेटमै निर्मातामध्ये एक भुवन केसीले गर्ने व्यवहारले असहज बनाएको थियो। आफूले भोगेका दुर्व्यवहार र असहज परिस्थितिबारे बोलेर मैले गल्ती गरेकी छैन, १० करोडकै मुद्दा दिनुभएको छ। तर म डराउँदिनँ।’

केही समयअघि सामाजिक सञ्जाल ‘इन्स्टाग्राम’ मा भिडिओ पोस्ट गर्दै उनले आफूले काम गरेका आठ फिल्ममध्ये तीन वटामा नराम्रो अनुभव भोग्नुपरेको बताएकी थिइन्।

आफूमाथि भएका दुर्व्यवहारका घटना बाहिर नल्याउन पटक-पटक दबाव आउनुका साथै ‘घटना सार्वजनिक गरे फिल्मी करिअर नै खत्तम पार्दिने’ डरसमेत देखाइएको उनले भिडिओमा भनेकी थिइन्।

प्रतिक्रिया दिनुहोस