स्पेनमा दोस्रो लहरको काेराेना संक्रमण फैलिन थाल्याे, एकै दिन थपिए २ हजार बढी संक्रमित

एजेन्सी, १५ साउन । ४ महिनाअघि कोरोना भाइरसको केन्द्र बनेको स्पेनमा संक्रमण नियन्त्रणमा आएको बताइए पनि पुन: संक्रमण देखिन सुरु भएकाे छ । दोस्रो लहरको संक्रमण फैलिन थालेपछि फेरि सर्वसाधारणमा त्रास फैलिएको छ ।

स्पेनले कोरोना भाइरसको संक्रमणको दोस्रो लहर नियन्त्रण गर्ने प्रयासस्वरुप मंगलवारबाट केही सेवाहरुमा पुन: प्रतिबन्ध लगाएको छ । हट स्पटका रुपमा देखिन सक्‍ने सम्भावित क्षेत्रको पहिचान गर्दै कोरोनाको दोस्रो वेभ रोक्‍न प्रयास गरिएको हो।

स्पेनमा बिहीबार बिहान यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा २ हजार ३१ जना संक्रमित भएका छन् । यसमध्ये ६१७ जनाको अवस्था गम्भीर छ ।

२४ घण्टामा ५ जनाकाे मृत्यु भएकाे वल्डाेमिटर्सले जनाएकाे छ । यो स्पेनमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या २८ हजार ४४१ पुगेकाे छ ।

धेरै देशमा संक्रमण दर पहिलाभन्दा कम हुँदै गएको छ । तर, कोरोना पूर्णरुपमा नियन्त्रण नआउँदासम्म यसको संक्रमणको खतरा रहिरहने विश्व स्वास्थ्य संगठनले जनाएको छ । सन् २०१९ डिसेम्बरको अन्त्यतिर चीनको वुहानबाट फैलिएको भाइरस विश्वभर महामारीको रुपमा फैलिएको थियो ।

प्रतिक्रिया दिनुहोस