भीडभाड कम गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले ल्यायो नयाँ नियम, १८ गतेदेखी लागू हुने

काठमाडौँ, १५ साउन । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सेवाग्राहीको भीडभाड कम गर्न नयाँ नियम बनाएको छ । कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय नयाँ नियम साउन १८ गतेदेखी लागू हुने गरी ल्याएको हो ।

नयाँ नियम अनुसार आइतबार काठमाडौं महानगरबासीले कार्यालयबाट सेवा पाउनेछन्। नागरिकता प्रमाणपत्रलगायत सेवा लिन काठमाडौं महानगरबासी आइतबार कार्यालय जानु पर्नेछ।

सोमबार कीर्तिपुर, नागार्जुन र चन्द्रागिरी नगरपालिकाका सेवाग्राहीले सेवा पाउनेछन्। मंगलबार फेरि काठमाडौं महानगरबासीले सेवा पाउँछन्। बुधबार बुढानिलकण्ठ, टोखा, कागेश्वरी मनोहरा नगरपालिकाले र बिहीबार पुन काठमाडौं महानगरबासीले सेवा पाउँछन् ।

शुक्रबार गोकर्णेश्वर, दक्षिणकाली, शंखरापुर र तारकेश्वर नगरपालिकाका सेवाग्राहीले सेवा पाउनेछन्। शान्ति सुरक्षा र कानुनबमोजिम हुने मुद्दाका लागि भने शनिबारबाहेक कार्यालय खुल्नेछ। त्यस्तै, सरकारी तथा आयोजना संगको छलफलका लागि पनि शनिबारबाहेक कार्यालय खुल्नेछ ।

प्रशासन कार्यालयले भीडभाड कोभिड १९ संक्रमणको अवस्था अनुसार तालिका घटबढ गरिने जनाएको छ । तोकिएका बार मिलाएर मात्र सम्बन्धित सेवाग्राही कार्यालयमा आउन पनि कार्यालयले आग्रह गरेको छ।

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस