काठमाडौं । कोरोना संक्रमणको जोखिम बढ्दै जाँदा मास्क प्रयोग नगरी हिँडडुल गर्ने ७२ जनालाई प्रहरीले बिहीबार जरिवाना गरेको छ । कोरोना भाइरस (कोभिड–१९) को जोखिम कायमै रहेकाले घरबाहिर निस्कँदा अनिवार्य मास्क प्रयोग गर्न पटक–पटक अनुरोध गर्दा पनि अटेरी गर्नेलाई कारवाही गरिएको तनहुँ प्रहरीले जनाएको छ ।
मास्क प्रयोग नगरी पैदल हिँड्ने र सवारी चलाउनेलाई कारवाही गरेर प्रतिव्यक्ति रु १०० का दरले जरिवाना गराइएको हो । जिल्लामा प्रहरीले बुधबार पनि १०० जनालाई मास्क प्रयोग नगरेवापत जरिवाना गराएको थियो ।
जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालयले पहिलो चरणमा मास्क प्रयोगका लागि सचेतना कार्यक्रम सञ्चालन गरेको थियो । जानकारी अनुसार कारवाहीमा परेकालाई कोरोना भाइरसका बारेमा पूर्णरूपमा जानकारीसमेत गराइएको छ ।