सानेपमा पौडेललाई देउवाको जवाफ : म काम चलाउ सभापति होइन

काठमाडौं : नेपाली कांग्रेसको आगामी महाधिवेशनको चहलपहलसँगै पार्टीभित्रको आन्तरिक विवाद पनि चर्किएको छ। संस्थापन पक्षको एकलौटी कदम सच्चाउन माग गर्दै विरोधपत्र बुझाउन सानेपा पुगेका वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका नेताहरूलाई सभापति शेरबहादुर देउवाले आफू कामचलाउ सभापति नभएको जबाफ दिएका छन्।

पौडेलसहितका नेताहरुले महाधिवेशनको मिति घोषणापछि विभाग गठन र विस्तारका साथै मनपरी ढंगले नवप्रवेशीलाई सदस्यता बाँडेको आरोप लगाउँदै बिहीबार सभापति देउवालाई ज्ञापनपत्र बुझाएका छन्।उनीहरुले कामचलाउ सभापतिलाई यसरी मनोमानी ढ‌ंगले निर्णय गर्ने अधिकार नभएको भन्दै महाधिवेशनको नतिजा प्रभावित पार्ने खालका गतिविधि नगर्न ध्यानाकर्षण गराएका थिए।

२०७२ फागुनमा भएको कांग्रेसको तेह्रौं महाधिवेशनबाट निर्वाचित नेतृत्वको चारवर्से अवधि गत फागुनमा सकिएको थियो। सभापतिसहित कार्यसमितिको पदावधि एक वर्ष थपिएको हो।कांग्रेसले आउने फागुन ७ देखि १० गतेसम्म महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको छ ।

पौडेलसहितका नेताहरूलाई सभापति देउवाले महाधिवेशनसम्म आफू कार्यकारी नै भएको स्पष्ट पारेका छन्। सभापति देउवाले बाँकी विभाग गठन र विस्तारलाई निरन्तरता दिने संकेत गरे ।

‘विधानमा कामचलाउ सभापति भन्ने नै छैन, त्यसैले महाधिवेशनसम्म म फुलफेजकै सभापति हुँ,’देउवाले भने, ‘महाधिवेशनलाई स्वतन्त्र र निष्पक्ष बनाउन म प्रतिवद्ध छु । त्यसमा शंका नगर्नुस् ।’

बरिष्ठ नेता पौडेल समूहले महाधिवेशनको मिति घोषणा भइसकेपछि विभाग गठन र विस्तार गरिएको भन्दै सभापति देउवाको ध्यानाकर्षण गराएको हो । विधान अनुसार ६ महिनाभित्र गठन भइसक्नुपर्ने विभाग र समितिहरु महाधिवेशनको मुखमा गठन गरिएकोमा आपत्ति जनाउँदै आएका छन् ।

बुधबार पार्टी कार्यालय सानेपामा पौडेल समूहको केन्द्रीय सदस्यहरुको भेलाले सभापति देउवालाई लिखित ध्यानाकर्षण गराउने निर्णय गरेको थियो। सभापतिलाई लिखित पत्र बुझाएपछि सानेपामै बिहीबार आयोजित पत्रकार सम्मेलनमा बरिष्ठ नेता पौडेलले विधानविपरीत भएका निर्णयविरुद्ध महाधिवेशनसम्मै प्रतिरोध गर्ने बताएका थिए ।

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस