दिपक र दिपाले फेरी ३ करोड लगानीको फिल्म ल्याउदै

काठमाडौं । लकडाउनका कारण सिथिल बनेको नेपाली चलचित्र क्षेत्र लकडाउन अन्त्य भएसंगै फेरी चलायमान हुन थालेको छ । लामो समय देखि घरमै रहेका कलाकार, फिल्म निर्माता निर्देशकहरु अब नयाँ फिल्मको योजना सार्वजनिक गर्न थालेका छन् । लामो समय नेपाली चलचित्र क्षेत्र ठप्प भयो । अझै पनि फिल्म हल संचालन गर्न सरकारले अनुमति दिएको छैन । तर पनि फिल्म निर्माताहरु फिल्म निर्माणवारे घोषणा गर्न थालेका छन् ।

नेपाली चलचित्रमा लगातार सफल चलचित्र बनाएर रेकर्ड कायम गरेका छक्का पञ्जा टिमले नयाँ चलचित्र निर्माण गर्ने तयारी गरिरहेका जानकारी गराएका छन् । हास्यकलाकार तथा अभिनेता दीपकराज गिरी र दीपाश्री निरौलाले चलचित्र ‘छक्का पञ्जा ४’ ल्याउने भएका छन् । चलचित्र ‘छक्का पञ्जा’ का तीनवटै सिरिज दर्शकले निकै रुचाएका थिए । सो चलचित्रको सफलता पछि अर्को चलचित्र ल्याउन लागेको सो टिमले जनाएको छ ।

चलचित्र ‘छक्का पञ्जा ४’ यस वर्षको दशैंमा प्रदर्शन गर्ने घोषणा गरिएको थियो तर कोरोनाभाइरसका कारण यसको छायांकन समेत हुन सकेन । अब भने चलचित्र ‘छक्का पञ्जा ४’ पहिलेको भन्दा फरक कथामा बन्ने बताइएको छ ।

यस चलचित्रको छायांकनका लागि एक वर्ष लाग्ने दीपकराज गिरीले जानकारी दिएका छन् । त्यतिञ्लेज कोरोनाको माहोलको पनि अन्त्य हुने भएकाले चलचित्र प्रदर्शनको समय पनि हुने उनको अनुमान छ । यस चलचित्र निर्माणको लागि तीन करोड खर्च हुने अनुमान लगाइएको दीपकराजले बताए । स्थिति सामान्य भएपछि चलचित्रको छायांकन सुरु गरिने जनाइएको छ ।

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस