‘शीतयुद्ध दुई व्यवस्थाबीचको संघर्ष थियो। अहिले चीन र अमेरिकाबीचको प्रतिद्वन्द्विता दुई राज्यबीचको प्रतिस्पर्धा हो।’

र्तमानलाई बुझ्न हामी जहिले पनि अतीततर्फ नियाल्ने गर्छौँ। केही अघिसम्म अमेरिका र चीनबीचको प्रतिद्वन्द्वितालाई व्याख्या गर्न प्राचीन ग्रिसका एक विद्वानको सहारा लिने प्रचलन थियो। एथेन्सका ती इतिहासकार थुसाइडिडसले प्रभुत्वशाली शक्ति र उदाउँदो शक्तिबीच द्वन्द्व अवश्यंभावी हुने बताएका थिए। अहिले अमेरिका–चीन द्वन्द्वको तुलना सोभियत कम्युनिज्मसँग पश्चिमाहरुको लडाइँ, अर्थात् शीतयुद्धसँग हुने गरेको छ। हेर्दा उस्तै लागेपनि यो तुलना उतिसारो मेल खाँदैन।

शीतयुद्धको ढोल सबैभन्दा चर्कोगरी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले बजाइरहेको छ। त्यसको कारण बुझ्न सजिलो पनि छ। ट्रम्प सोच्छन्– यतिबेला बेइजिङविरुद्ध जति चर्को अडान लियो, नोभेम्बरको राष्ट्रपतीय निर्वाचनमा त्यति नै धेरै भोट आउँछ। केही समयअघि मात्रै उनी चिनियाँ राष्ट्रपति सी चिनफिङसँग व्यापार सम्झौता गरेको गुड्डी हाँकिरहेका थिए। अहिले ट्रम्पको ह्वाइट हाउस हरेक मोर्चामा बेइजिङको निन्दा गरिरहेको छ। किनभने अमेरिका आफ्ना मित्रराष्ट्रहरुलाई पनि चीनविरुद्ध उभ्याउन चाहन्छ। त्यसका लागि सोभियत कम्युनिज्मलाई हराउने पश्चिमको संकल्पसँग तुलना गर्नुभन्दा उत्तम उपाय अरु के हुन सक्छ र! तर, यो तुलना इतिहासप्रति जति बेपरवाह छ, अहिलेको भूराजनीतिप्रति पनि उति नै बेखबर छ।

अमेरिकी प्रशासनको अज्ञानताको तुलना कसैसँग हुन सक्दैन। त्यही अज्ञानता गत साता अमेरिकी विदेशमन्त्री माइक पम्पियोको भाषणमा झल्किन्थ्यो। स्पष्टतः उनी बेइजिङविरुद्ध समग्र पश्चिमी विश्वलाई एकठाउँमा उभ्याउन चाहन्थे। ‘कम्युनिस्ट चीन र स्वतन्त्र विश्वको भविष्य’ बारे अशुभ भविष्यवाणी गर्दै पम्पियोले राष्ट्रपति रिचर्ड निक्सनले चीनप्रति लिएको ‘खुलापन’ को नीति असफल भएको दाबी गरे।

सन् १९४० को दशकमा जर्ज केननको सोभियत संघसम्बन्धी विस्तृत लेखनले ‘ट्रुम्यान डक्ट्रिन’ भनेर चिनिने अमेरिकी विदेश नीति तयार गर्न प्रेरित गरेको थियो। जसअनुसार सोभियत संघलाई ‘नियन्त्रण’ गर्ने नीति अमेरिकाले अपनाएको थियो। सायद आफूलाई वर्तमानको केनन ठानेर हुनसक्छ, पम्पियोले घोषणा गरे– ‘ चिनियाँ कम्युनिस्ट पार्टीबाट हाम्रो स्वतन्त्रको रक्षा गर्नु हाम्रो समयको मिसन हो।’

निश्चय नै केननले अमेरिकाको शीतयुद्धकालीन विदेशनीतिको ढाँचा तयार गरेका थिए। तर, पम्पियोको भाषणबाट के स्पष्ट हुन्छ भने केननले मस्कोबाट लेखेको प्रसिद्ध ‘लङ टेलिग्राम’ उनले पढेकै छैनन्। त्यतिमात्र होइन, सन् १९७१ मा निक्सनले बेइजिङसँग सम्बन्ध बढाउन जिम्मेवार, कुनै समय गोप्य राखिएको नीति पत्र पनि उनले पढेका छैनन्।

पम्पियोको बुझाइअनुसार निक्सनको उदेश्य माओ नेतृत्वको चीनलाई पश्चिमा लोकतान्त्रिक खेमामा ल्याउनु थियो। त्यही आधारमा उनले अहिले भने, ‘खुलापनको त्यो नीति असफल भयो भनेर सबैले स्वीकार्ने बेला यही हो।’

तर, निक्सनका दूत हेनरी किसिन्जर र चिनियाँ प्रधानमन्त्री चाउ एनलाईबीचको वार्ताको अभिलेखले अर्कै कथा भन्छ। किसिन्जर अत्यन्त यथार्थवादी व्यक्ति थिए। कूटनीतिको बाटो मूल्यमान्यताले छेकेको उनी फिटिक्कै मन पराउँदैनथे। स्वतन्त्रताको मुद्दालाई अघि बढाउन किसिन्जरले कुनै प्रयास गरेनन्। उनको सीधा र स्पष्ट उदेश्य एउटा मात्रै थियो– मस्कोलाई एक्ल्याउनु।

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस