केपी-प्रचण्डले काम गर्ने मेसो पाएनन्, मौका पाए पाँच वर्षमा मुलुक कायापलट गर्छु: रामचन्द्र पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र अर्का पुष्पकमल दाहाल प्रचण्डले भन्दा आफूले मुलुकका लागि कायापलट हुने गरी काम गर्न सक्ने बताएका छन्।

मौका पाउने हो भने आफूले पाँच/दश वर्षमा मुलुकमा विकासको कायापलट हुने गरी काम गरेर देखाउने पौडेलले बताएका हुन्।

ओली-प्रचण्डले काम गर्ने मेसो नपाएको पनि पौडेलले दाबी गरे।

‘केपी-प्रचण्डले काम गर्ने मेसो पाएनन्। मौका पाएँ भने उनीहरूले भन्दा मैले काम गर्न सक्छु। पाँच/दश वर्षमा यो मुलुक कायापलट हुन्छ,’ सामाजिक लोकतन्त्र अध्ययन केन्द्रले शनिबार गरेको कार्यक्रममा पौडेलले भने, ‘कामको मेसो जान्नुपर्‍यो नि!, तिमीहरूलाई भन्दा काम गर्ने मेसो मलाई छ।’

उनले ओली, प्रचण्ड, माधव नेपाल, बामदेव गौतमको भन्दा देशका लागि आफ्नो योगदान धेरै भएको पनि उल्लेख गरेका छन्। ‘मुलुकका लागि यी नेताहरूको योगदान कति छ?,’ उनले प्रश्न गरे, ‘बरू मेरो योगदान छ। जीवनमा कुनै जिम्मेवारी लिएको ठाउँमा म चुकेको छु? ३० वर्ष पञ्चायतसँगको लडाइँमा म कतै झुकेँ?’

आफ्नो विचार थुन्न आफूलाई १४ वर्ष जेलमा थुनिएको प्रसंग निकाल्दै पौडेलले थपे, ‘केपीलाई जस्तो ज्यान मुद्दामा मलाई जेल राखेको होइन। म आस्थाको बन्दी हो। आस्था र सिद्धान्तका लागि जेल बसेको। यिनीहरूसँग म किन झुक्ने?’

नैतिक र राजनीतिक रूपमा ओली-प्रचण्डसँग फेस गर्ने हिम्मत आफूसँग रहेको पौडेलले बताए।

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस