TRENDING

सेनाको कुटपिटपछि मृत्यु भएका चेपाङ युवकको शव बुझ्यो परिवारले

चितवन, १८ साउन । चितवन राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएका सैनिकको कुटपिटपछि मृत्यु भएको भनिएका पूर्वी चितवनको राप्ती नगरपालिका–२ का २४ वर्षीय राजकुमार चेपाङको शव परिवारले बुझेको छ । नेपाल चेपाङ सङ्घका पूर्व अध्यक्ष गोविन्दराम चेपाङका अनुसार राजकुमारको शव शनिबार साँझ ६ः०० बजे काठमाडौँबाट बुझेर आज बिहान चितवन ल्याइएको हो । जिल्ला प्रशासन कार्यालयमा शुक्रबार भएको सर्वपक्षीय बैठकले पीडितको माग सम्बोधन गर्ने निर्णय गरेपछि परिवारले शव बुझेको उहाँले बताउनुभयो ।

त्रिवि शिक्षण अस्पताल काठमाडौँमा रहेको शव परिवारले चितवन ल्याएको छ । राजकुमारको शव परीक्षण त्रिवि शिक्षण अस्पतालमा गरिएको थियो । सर्वपक्षीय बैठकले चेपाङलाई कूटपिट गर्नेलाई कानूनी दायरामा ल्याई आवश्यक कारवाही गर्ने पहिलो निर्णय गरेको छ ।

बैठकले राजकुमारकी छोरीलाई भरणपोषण र छात्रवृत्ति रकम नियमितरूपमा उपलब्ध गराउने, मृतकको घर निर्माणमा आवश्यक वन पैदावर, कच्चापदार्थ र श्रमसमेत निःशुल्क उपलब्ध गराउने, राजकुमारको परिवारलाई राहतस्वरूप रु १० लाख रकम उपलब्ध गराउने र शव परिवारले बुझि अन्त्येष्टि गर्ने निर्णय भएको बैठकमा सहभागी नेपाली काँग्रेस जिल्ला सभापति जीतनारायण श्रेष्ठले जानकारी दिनुभयो ।

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोल।
प्रतिक्रिया दिनुहोस