फेरि लकडाउन ?

सरकारले १ सय २० दिन लामो लकडाउन अन्त्य गरेपछि यतिबेला जनजीवन सहज बनेको छ । सार्वजनिक बस चल्न थालेका छन् । उद्योग कलकारखाना, व्यापार, व्यवसाय पूर्ववत् अवस्थामा फर्किंदै छन् ।
साउन १५ गतेदेखि पर्यटन क्षेत्र, होटल, रेस्टुराँ, ट्राभल एजेन्सीहरू पनि खुला गरेको छ । आगामी भदौ १ गतेदेखि विद्यालय भर्ना र हवाई उडान पनि सुरु गर्ने सरकारको तयारी छ ।

तर राजधानी काठमाडौँसहित देशका केही भागमा कोरोना सङ्क्रमण दर बढ्दै गएकाले यसको जोखिम कम नभएको विज्ञहरूले बताउँदै आएका छन् । काठमाडौँस्थित प्रहरी मुख्यालयमा ७२ जना प्रहरीलाई सङ्क्रमण भएको छ भने महानगरीय ट्राफिक प्रहरी महाशाखामा २ जनामा कोरोना सङ्क्रमण देखिएपछि महाशाखा प्रमुख एसएसपीसहित ३ सय ७५ प्रहरी क्वारेन्टिनमा बसेका छन् । पहिलेभन्दा काठमाडौँमा सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ ।

नेपालमा हालसम्म २० हजार ८६ जनामा कोरोना सङ्क्रमण भएकोमा १४ हजार ४ सय ९२ जना उपचारपछि फर्किएका छन् । ५६ जनाको निधन भएको छ भने ५ हजार ५ सय ३८ जनामा सङ्क्रमण सक्रिय रहेको छ ।

सबैले मास्क लगाए लकडाउन हुँदैन : सीसीएमसी प्रवक्ता
कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि गठित कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) का प्रवक्ता महेन्द्र गुरागाईं फेरि लकडाउन हुने हल्ला चले पनि लकडाउन गर्ने सम्भावना नभएको बताउँछन् । उनले लकडाउन गर्ने कि नगर्ने भन्ने कुरा नागरिको हातमा रहेको बताउँछन् । उनले मास्क लगाउने, दूरी कायम गर्ने, स्वास्थ्य सुरक्षा सावधानी अपनाउने हो भने सङ्क्रमणको दर कम हुने र लकडाउन नहुने बताए । यसका लागि सबै पक्ष सचेत हुनुपर्ने प्रवक्ता गुरागाईंले बताए ।

उनले भने– ‘सबैले मास्क लगाएको छ कि छैन पुलिसले मात्र हेर्न सक्दैन, तपाईं हामी सबै सिपाही हुनुप¥यो । प्रहरीले हेरिरहेको छ, सीडीओबाट जरिवाना गराउने काम पनि भइरहेको छ । झन्डै ४० लाख जनसङ्ख्या छ, सबै प्रहरीले रुँघेर पनि सक्दैन । सबै प्रहरी बन्नुपर्ने अवस्था छ । आफू सुरक्षित हुने अरूलाई पनि सुरक्षित राख्नुपर्ने भएको छ ।’

यस्तै खुला गरिएका सेवाहरू मापदण्डका आधारमा चलाउन सरकारले अनुगमनको काम थालेको उनले बताए । होटल रेस्टुराँहरू, पर्यटन क्षेत्र साउन १५ देखि खुला गरेपछि ती क्षेत्रमा मापदण्ड पूरा गरे नगरेको बारे अनुगमनका लागि पर्यटन मन्त्रालयलाई जिम्मेवारी दिइएको छ

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस