मलेसियामा नेपाली सुरक्षागार्डलाई निर्घात कुट्ने पनि नेपाली नै, भोली मुद्दा दायर गरिने

मलेसियामा नेपाली कामदारमाथि कुटपिट गर्ने व्यक्ति नेपाली नै भएको फेलापरेको छ । मलेसियास्थित नेपाली दूतावासका अनुसार नेपाली सुरक्षागार्डमाथि कम्पनीका नेपाली सुपरभाइजरले नै निर्घात रूपमा कुटपिट गरेका हुन् ।

पीडित नेपाली श्रमिक अहिले मलेसियास्थित नेपाली दूतावासमा आश्रय लिइरहेको मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले बताए । कुटाइ खाने नेपाली श्रमिकका दाइले नेपालबाट दूतावासलाई सम्पर्क गरेका थिए ।

सोमबार प्रहरीमा मुद्दा दायर गरिने

नेपाली सुरक्षागार्डमाथि भएको कुटपिटको घटनालाई मलेसियास्थित नेपाली दूतावासले सोमबार प्रहरीमा केस दर्ता गर्ने भएको छ । आइतबार सार्वजनिक बिदा हुने भएकाले दूतावासले सोमबार मात्रै केस दर्ता गर्ने जनाएको छ ।

दूतावासले पीडकलाई सम्पर्क गरी सोमबार प्रहरीमा बोलाएको राजदूत पाण्डेले बताए । पाण्डेका अनुसार पीडकको भिसाको अवस्थाबारे भने विस्तृत जानकारी नभएको बताए ।

सोमबार प्रहरीमा उजुरी दर्ता भएपछि दूतावासले सम्पूर्ण जानकारी गराउने उनले बताए । समाचारका कारण उजुरी दर्तामा समस्या पर्ने भन्दै राजदूत पाण्डेले पीडक र पीडितको नाम र कम्पनी खुलाउन मानेनन् ।

प्रतिक्रिया दिनुहोस