आफ्ना मतदातालाई मास्क लगाउन गगन थापाको अपील, घरघरमा मास्क पठाउँदै

लकडाउन खुलेपछि देशैभरि चहलपहल बढेको छ।
पट्यारलाग्दो लकडाउन खुलेपछि मानिसहरू घरबाहिर निस्केका छन्, जसले भीडभाड भएको छ।

ठूला सहर अझै कोरोनाभाइरस संक्रमणको जोखिममा छन्। मानिसले मास्कको प्रयोग राम्रोसँग गरेका छैनन्। सरकारले मास्क नलगाई बाहिर निस्कनेलाई १०० रुपैयाँ जरिवाना तिराइरहेको छ।
मास्क नलगाउने कतिलाई यसको महत्व थाहा छैन कतिले हेलचक्रयाइँ गरिरहेका छन्।
काठमाडौं क्षेत्र नम्बर-४ का सांसद गगन थापाले भने मास्क लगाउन आग्रह गर्दै मतदाताका घरघरमा अपिल पत्र पठाउन थालेका छन्।

प्रत्येक घरका लागि १० थान मास्क र सुरक्षित स्वास्थ्य व्यवहार अपनाउन एक पन्नाको अपिल पठाएका हुन्।
‘लकडाउन खुलेपछि काठमाडौंमा झन् कोरोनाको जोखिम बढेको छ,’ सांसद थापाले भने, ‘सरकारले आफ्नो ठाउँमा काम गरिरहेको छ, गर्ला पनि। तर सुरक्षित स्वास्थ्य व्यवहारका लागि आफैंले ध्यान दिनुपर्छ भन्ने कुरा अपिलमा लेखेको छु।’

मास्क लगाउने, साबुन पानीले पटक-पटक हात धुने, सेनिटाइजर प्रयोग गर्नेजस्ता कुरा सरकारलाई देखाउनका निम्ति नभएकाले आफ्नो स्वास्थ्यको ख्याल गर्न उनले निर्वाचन क्षेत्रका जनतालाई आग्रह गरेका हुन्।

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस