२०२१ सम्ममा कोरोना नियन्त्रणका लागि खोपको लाखौँ मात्रा उत्पादन गर्ने रूसको दावी

एजेन्सी, १९ साउन । रूसले कोरोनाभाइरस खोपको ठूलो मात्रामा उत्पादन अर्को महिना सुरु गर्ने र सन् २०२१ को सुरूसम्ममा प्रतिमहिना लाखौँ मात्रामा खोपको उत्पादन गर्ने दावी गरेको छ ।रूसले खोपका धेरै नमूनाहरूको अनुसन्धानहरूलाई अगाडि बढिरहेको बताएको छ । मस्कोको गमलेया इन्स्टिच्युटमा तयार गरिएको खोपको विकास उन्नत चरणमा पुगेको रूसले दावी गरेको छ । “हामी सेप्टेम्बरसम्ममा सामूहिक उत्पादन सुरु गर्नेमा विश्वस्त छौँ,” उद्योगमन्त्री डेनिस मन्तुरोभले रूसी समाचार संस्था तास न्यूज एजेन्सीसँगको साक्षात्कारमा बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामी एक महिनाका लाखौं मात्रा उत्पादन गर्नसक्नेछौँ र आगामी सेप्टेम्बरदेखि खोपलाई अत्यधिक उत्पादन गर्ने सुनिश्चित गर्न सक्षम हुनेछाँै । अर्को बर्षको शुरूसम्ममा करोडौँको खोपको मात्रा उत्पादन गर्नेछौँ ।” खोप विकासमा लागेको उक्त संस्थाले मध्य रूसका तीन स्थानमा उत्पादन टेक्नोलोजी तयार गरिरहेको पनि रूसी समाचार संस्थाहरूले बताएका छन् ।

स्वास्थ्यमन्त्री मिखाइल मुराश्कोले सोमबार भन्नुभयो, “गमलेयाले तयार पारेको खोपको क्लिनिकल परीक्षणहरू सम्पन्न भइसकेको र राज्यमा दर्ताकालागि आवश्यकप्रक्रिया सुरू भइरहेको छ ।”

“साइबेरियामा रहेको भेक्टोर प्रयोगशालाले विकसित गरेको अर्को खोप हाल क्लिनिकल परीक्षणमा रहेको छ र अर्को दुई महिनामा मानव परीक्षण सुरु हुनेछ,” मुराश्कोले भन्नुभयो । गमलेयाको खोप ‘भेक्टर भ्याक्सिन’ हो । यसको मतलब यसले अन्य भाइरसहरूलाई प्रयोग गरी डीएनए एन्कोडिंगमार्फत आवश्यक प्रतिरक्षा कोशिका उत्पादन गरी उपचारमा सहयोग गर्छ 

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस