सुरु भयो फेरि लकडाउन !

पट्यारलाग्दो लकडाउनमा करिव चार महिना काठमाडौं बसेर म गत साउन १ गते आफ्नो गृहनगर बिराटनगर आइपुगें । तर, काठमाडौं फर्कन नपाउँदै यहाँ पुनः लकडाउन भएको छ ।

कोरोनाको संक्रमण समुदाय स्तरमा पुग्यो भनेर बिराटनगर महानगरपालिकाले यही साउन १६ गतेबाट राति १२ बजेदेखि ३० गतेसम्म १४ दिनका लागि बिराटनगर क्षेत्रभित्र लकडाउन गर्ने निर्णय गरेको छ ।

यहाँ संक्रमणको समस्या जटिल बन्दै गएको छ भने नागरिकको जनजीवनको अवस्था अस्तव्यस्त छ । डर र सन्त्रास सँगसँगै काम गरेर खाने श्रमिकको दैनिक जीवन अप्ठयारो अवस्थामा देखिन्छ । उनीहरु रोग र भोक दुवैबाट आक्रान्त एवं भयभित छन् ।

अहिले मोरङ जिल्लामा संक्रमणको फैलावटमा वृद्धि भई आसपासका जिल्ला सुनसरी, झापा, ईलाम र प्रदेश १ सँग जोडिएको २ नं. प्रदेशमा पनि संक्रमण तीव्र गतिमा फैलँदो अवस्थामा छ ।

यस्तो जटील र संवेदनशील घडीमा स्थानीय, प्रदेश र संघीय सरकारवीच जुन प्रकारको समन्वय र साझेदारी हुनुपर्ने थियो, त्यसको अभाव खट्केको देखिन्छ । संक्रमणलाई न्यूनीकरण गर्दै जुन रुपले सावधानी र सतर्कता अपनाउँदै तिनै तहका सरकार पूर्णरुपमा तयारीको अवस्थामा रहनुपर्ने हो, त्यो यथार्थमा देखिँदैन ।

१ नं. प्रदेशमा लक्षण नै नभएका संख्या धेरै छ । त्यसैले अब समुदाय स्तरमा नै पीसीआर परीक्षणको दायरा बढाउनु पर्छ
प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले पनि नेकपाको आन्तरिक झगडा मिलाउन भन्दै केन्द्रमा नै धेरै समय खर्चेको अवस्था छ । संघीय सरकार भने आफ्नै पार्टीभित्र मतमतान्तरमा व्यस्त र मस्त देखिन्छ ।

यसरी नेपाली जनताका आउँदा दिनहरु अत्यन्त कष्टपूर्ण र निराशाले छाउने संकेत देखा परिरहेको छ । कोरोनाको संक्रमण बढेर सम्पूर्ण देश नै लकडाउनमा फर्कन सक्ने खतरा देखिएको छ ।

बाढी पहिरोले धनजनको विनाश भैरहेको छ । यसलाई समुचित व्यवस्थापन गर्न सकिएको छैन । सरकारी संयन्त्र जनताको हितमा परिचालन हुन सकिरहेका छैनन् । केवल आफूलाई शक्तिशाली बनाई सत्तामा कसरी रमाइरहने भन्ने कुरामा मात्र सरकार तल्लीन देखिन्छ ।

विचौलिया, घुसखोरी र भ्रष्टाचारीको बिगबिगी छ । कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाहरुले आ–आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्न सकिरहेका छैनन् । देश क्रमशः अधोगतितर्फ गइरहेको छ ।

कोभिड १९ को नियन्त्रण र रोकथामका लागि सरकारी काम कारवाही प्रभावकारी र पारदर्शी हुनुपर्ने माग राख्दै सञ्चालित ‘इनफ इज इनफ’का अभियन्ताप्रति सरकार पूर्णरुपमा असंवेदनशील देखिएको छ । बरु उल्टै अभियन्ता माथि धरपकड र हस्तक्षेप गरेको देखिन्छ । यसरी हेर्दा सरकार कोरोनाको नियन्त्रण र रोकथाममा पूर्ण असफल भएको देखिन्छ ।

सरसर्ति हेर्दा प्रदेश नं १ का तराईका जिल्लाहरुमा कोरोनाको संक्रमण दर बढ्दो अवस्थामा छ भने कोराना संक्रमितको संख्या ठूला शहरहरुमा दिन प्रतिदिन थपिने क्रमपनि त्यतिकै देखिन्छ । पहिले भारत र तेस्रो मुलुकबाट आएकाहरुलाई कोरोनाको संक्रमण देखिएता पनि पछिल्लो समयमा स्रोत पहिचान नभएका संक्रमितको संख्यासमेत थपिन थालेपछि स्थिति झन् भयावह हुने देखिन्छ ।

यसैक्रममा प्रदेश सरकारले कोरोनाको संक्रमण र फैलावटको टे«न्डलाई आधार वनाई १ नं. प्रदेशमा जोखिमका दृष्टिकोणले सबैभन्दा खतरामा रहेका जिल्ला र स्थानीय तहको सूची तयार पारेको छ । यसमा पनि छिमेकी मुलुक भारतसँग सीमा जोडिएका जिल्लाहरु झापा, मोरङ, सुनसरी र इलाम कोरोना संक्रमणको दृष्टिकोणले सबैभन्दा उच्च जोखिममा छन् । यी जिल्ला मात्र नभएर त्यसभित्रका २० स्थानीय तह पनि संक्रमणको जोखिममा छन् ।

प्रदेश नम्बर १ को राजधानी बिराटनगर कोभिड १९ को उच्च जोखिममा रहेको देखिन्छ । साउन १९ गतेसम्मको मोरङ जिल्लाको तथ्याङ्क हेर्दा संक्रमितको संख्या ३७२, मृत्यु २ जना र २१३ जना कोरोनालाई जित्न सफल भएका छन् । बिराटनगरमा मात्रै संक्रमितको संख्या १४० पुगेको छ ।

पछिल्लोपटक पुष्टि भएका धेरै संक्रमितको ट्राभल हिस्ट्री नै छैन । उनीहरुको संक्रमणको स्रोतको पनि पहिचान हुन सकेको छैन । २ चिकित्सकसहित स्वास्थ्यकर्मीमा संक्रमण देखिएपछि बिराटनगरमा समुदायमा कोरोना फैलिएको निश्कर्ष महानगर जनस्वास्थ्य महाशाखाको छ ।

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस