नेपालमा ३६ कोरोना संक्रमित सिकिस्त अवस्थामा, २ जना भेन्टिलेटरमा, ३४ आइसीयूयमा, एकको मृत्यु

काठमाडौँ – नेपालमा उपचारको अवस्थामा रहेका ५ हजार ७३२ जना कोरोना संक्रमितमध्ये ३६ जना सिकिस्त अवस्थामा रहेको खुलेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार सोमवार अपरान्ह चारबजेसम्म देशभरका विभिन्न अस्पतालमा उपचाररतमध्ये ३६ संक्रमितको अवस्था चिन्ताजनक रहेको जनाएको छ।

त्यसमध्ये दुईजनालाई भेन्टिलेटरमा छन् भने ३४ जना आइसीयूमा छन् । सबैभन्दा बढी बागमती प्रदेशमा २१ संक्रमित आइसीयूमा छन् भने एक जना भेन्टिलेटरमा रहेको बताइएको छ ।

यस्तै प्रदेश नम्बर २ मा सात जना आइसीयूमा, प्रदेश नम्बर १ मा तीन जना आइसीयूमा र एक जना भेन्टिलेटरमा छन्। प्रदेश नम्बर ५, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा एक-एकजना बिरामी आइसीयूमा उपचारारत रहेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा उपत्यकामा ६२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमा काठमाडौंका ४८, भक्तपुरका १३ र ललितपुरका १ जना रहेका छन् । मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा उपत्यकाका ६२ सहित २५९ जना संक्रमित थपिएको जानकारी दिए । योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या २१ हजार ९ पुगेको उनले बताए । जसमध्ये हालसम्म १५ हजार २६ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार मोरङ जिल्लाका ७५ वर्षीय पुरुषको साउन १९ गते मृत्यु भएको हो।ज्वरो र श्वासप्रश्वासको समस्या देखिएपछि उनी सोमवार बिहान कोशी अस्पतालमा भर्ना भएका थिए।उपचारको क्रममा उनको सोमवार नै मृत्यु भएको र उनमा कोभिड-१९ पुष्टि भएको मन्त्रालयले जनाएको छ।ती व्यक्ति मधुमेह र उक्त रक्तचापबाट पनि पीडित भएको जनाइएको छ।

नेपालमा चीनबाट फर्किएका एक व्यक्तिमा ज्यानुअरी महिनामै कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको थियो।केही महिना विदेशबाट फर्किएका व्यक्तिमा फाट्टफुट्ट सङ्क्रमण देखिएको भए पनि मे महिनादेखि दैनिक सङ्क्रमण पुष्टि हुने क्रम ह्वात्तै बढ्यो। तर केही सातादेखि पुष्टि हुने सङ्क्रमणको सङ्ख्या घट्न थालेको छ। हेर्नुहोस् अहिलेसम्म दैनिक पुष्टि भएको र कुल सङ्क्रमणको विवरण।

खबरहबको सहयोगमा तस्विर फाइल

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस