जोखिम बढेपछि काठमाण्डौमा पहिलोपटक लाग्यो यति कडा नियम, अब अटेर गरे सिधै कैद

काठमाण्डौ – विश्वव्यापी महामारीरुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमण विस्तार नहोस् भन्ने मनसायका साथ काठमाडौँ जिल्ला प्रशासन तोकिएको स्वास्थ्य सुरक्षा मापदण्ड पालना नगर्नेविरुद्ध कडारुपमा प्रस्तुत हुन थालेको छ । तोकिएको स्वास्थ्य सुरक्षा मापदण्ड प्रयोग नगरी कोरोनालाई सामान्ने ढङ्गले हेर्न थालिएकाले कारवाहीको दायरा फराकिलो बनाउन लागिएको जिल्ला प्रशासन कार्यालय काठमाडौँले जनाएको छ । “कोरोना सकिए झै गरेर लापरवाही गर्ने बढेको पाइयो, अहिलेसम्म जरिवानालाई प्राथमिकता दिइएको थियो, अब कैद नै गर्ने मनस्थितिमा पुगेका छौँ”, काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले भन्नुभयो ।

सङ्क्रामक रोग ऐन, २०२० अनुसार राज्यको आदेशलाई अपहेलना गर्ने व्यक्ति उपर १ महिनासम्म कैद वा रु १०० सम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ । उक्त ऐनमा सरकारले खटाएका अधिकृतको काममा बाधा पु¥याउनेलाई ६ महिनासम्म कैद वा रु ६०० सम्म जरिबाना वा दुवै सजाय हुने व्यवस्था छ । त्यो अधिकार प्रमुख जिल्ला अधिकारीलाई छ ।

आज मात्रै मुलुकभर २५९ जनाका कोभिड–१९ देखियो । त्यसमा उपत्यकाको मात्रै ६२ जना छन् । दैनिक जसो नै काठमाडौँमा सङ्क्रमण देखिन थालेको छ । उपत्यकाको नाका प्रवेश गर्नेहरुको परीक्षणमा बढी सङ्क्रमण देखिएको छ । अहिलेसम्म मुलुकमा भयावह भइसकेको छैन तर परीक्षणको नतिजाले जोखिम बढ्दै गएको स्थिति प्रष्ट छ ।

पछिल्लो समयमा मानिसको लापरवाही बढ्दो छ । मास्क नलगाई हिँड्ने जमात देखिन थालेको छ । काठमाडौँ प्रशासनले सुरक्षा मापदण्ड अपनाएको छ छैन भन्ने बारेमा नियमित अनुगमन गरिरहेको छ । अनुगमनका क्रममा व्यवसाय सञ्चालकले मापदण्ड प्रयोग गरेको पाइएको छैन । नागरिक पनि कोरोना सकिएको जसरी खुलमखुला हिँडिरहेका छन् । सामान्य रुघाखोकी जसरी मानिसले कोभिड–१९ लाई हेल्चेक्र्याइँ गरेको पाइएको प्रजिअ दाहालले बताउनुभयो । उहाँले अब प्रशासन चुप लागेर नबस्ने भन्दै मापदण्ड नमान्ने व्यावसायिक प्रतिष्ठान बन्द गराउने निष्कर्षमा पुगेको बताउनुभयो । अनुगमनमा भाटभटेनीले पनि मापदण्ड नमानेको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस