पर्वतमा नेपालकै अग्लो पुल मात्र होइन, अव विश्वकै लामो झोलुंगे पुल पनि !

पर्वत । अग्ला झोलुंगे पुलहरुले चिनिएको पर्वत जिल्ला अव भने विश्वकै लामो झोलुंगे पुलले पनि प्रख्यात हुँदैछ । पर्वतको पाङलाई बाग्लुङ जिल्लाको सदरमुकामसँग जोड्दै त्यस क्षेत्रको पर्यटकीय, आर्थिक, सामाजिक, धार्मिक, साँस्कृतिक र शैक्षिक गतिविधिलाई थप सुधार एवं सहज गर्ने उद्देश्यले स्थानीय पूर्वाधार विभाग अन्तर्गत सस्पेन्सन बृज डिभिजनबाट बाङ्गेचौर अदुवाबारी झोलुङ्गे पूलको निर्माण गरिएको हो ।उक्त झोलुङ्गे पूलकोे निर्माण सँगै झोलुङ्गे पूलको जननी जिल्लाको रुपमा परिचित बाग्लुङ जिल्ला र अग्ला झोलुङ्गे पूलको शहरको रुपमा परिचित पर्वत–बाग्लुङ जिल्लामा थप एक पहिचान बढ्ने भएको छ – पदयात्री हिँड्ने संसारकै लामो एकल स्पानको झोलुङ्गे पूल भएको जिल्ला ।

बाङ्गेचौर अदुवाबारी झोलुङ्गे पूलको लम्बाई ५६७ मिटर रहेको छ ।बाङ्गेचौर अदुवाबारी झोलुङ्गे पूल संसारकै सबैभन्दा लामो भनिएको पदयात्री हिँड्ने झोलुङ्गे पूल स्विट्जरल्याण्डको ४९४.०० मिटर लामो चारलेस कुइन पेड्रेस्टन व्रिज भन्दा ७३.०० मिटर लामो छ ।सस्पेन्सन बृज डिभिजनले देशभरका लामा र विशिष्ट प्रकारको झोलुङ्गे पूलहरुको निर्माण गर्ने जिम्मेवारी अनुसार आफ्नो भूमिका निर्वाह गर्दै आएको छ । यस सस्पेन्सन बृज डिभिजनले हालसम्म निर्माण गरेको झोलुङ्गे पूल भन्दा विशिष्ट प्रकृतिको बाङ्गेचौर–अदुवाबारी झोलुङ्गे पूलको आफ्नै जनशक्ति मार्फत् सर्वेक्षण, डिजाइनको कार्य गरी ठेक्का व्यवस्थापन एवं निर्माण गरेको हो ।

उक्त झोलुङ्गे पूलको निर्माण हुनु अघिसम्म डिभिजनमा रहेको ज्ञान, सीप, अनुसन्धान, विद्यमान प्रविधि र निर्माण व्यवसायीको क्षमताको आधारमा ३५९ मिटर लम्बाईसम्मको एकल स्पानको झोलुङ्गे पूलकोे निर्माण हुँदै आएको थियो ।यस झोलुङ्गे पूल निर्माण गर्दा डिभिजनलाई चुनौति र अवसर दुवै थियो । चुनौति यस मानेमा कि झोलुङ्गे पूल निर्माण गर्दा प्राबिधिक दृष्टिकोणबाट सम्भव नहुन पनि सक्छ भन्ने र लठ्ठा तान्ने प्रबिधि नयाँ भएकोले सो प्रबिधिबाट लठ्ठा तान्न सफल हुने नहुने भन्ने द्विविधा रहेको थियो । अर्कोतर्फ यस प्रकृतिका लामो झोलुङ्गे पूलको निर्माण हालसम्म नभएकोले सो झोलुङ्गे पूल निर्माण सहज भएमा थप यस्ता प्रकृतिका झोलुङ्गे पूल निर्माण गर्न अवसर प्राप्त हुने अवस्था थियो ।

यस झोलुङ्गे पूल निर्माणको क्रममा लठ्ठा तान्ने कार्यलाई विशेष चुनौतिको रुपमा लिईँदै आएकोमा डिभिजनबाट विन्च मेसिन खरिद गरी लठ्ठा तान्ने प्रविधि भित्र्याएपछि उक्त झोलुङ्गे पूलको निर्माण कार्य सम्भव भएको हो । उक्त प्रकृतिको लामो झोलुङ्गे पूलकोे निर्माण सफल भएसँगै डाँडाकाँडा, नदिनाला, अग्ला पहाड, खोँचले भरिएको नेपालको भुगोलभित्र दुरदराजमा रहेका नागरीकहरुको आवतजावत र सेवासुविधाको पहँुच सम्भव हुनेछ । यस झोलुङ्गे पूल निर्माण अनुभवले विशिष्ट प्रकृतिको झोलुङ्गे पूल विकास, विस्तारमा थप टेवा पुग्ने छ ।निर्माण व्यवसायी श्री थानी÷बि।एल।टि।÷हिमशिखर जे।भी। उक्त झोलुङ्गे पूलको निर्माण गरेको हो ।

प्रतिक्रिया दिनुहोस