काठमाडौं उपत्यकामा पुनः ६२ संक्रमित थपिए, उपत्यकामा संक्रमितको संख्या ८ सय हाराहारीमा

काठमाडौं, २१ साउन । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ६२ संक्रमित फेला परेका छन् । काठमाडौं उपत्यकामा बढ्दो जोखिमलाई दिनानु दिन थपिदो संख्याले पुष्टि गर्न थालेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६२ संक्रमित थपिएका हुन् । हिजो मंगलबार पनि यही संख्यामा काठमाडौं उपत्यकामा संक्रमित थपिएका थिए ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुको प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका २७ जनामा संक्रमणको पुष्टि भएको मन्त्रालयले जनाएको छ । यस्तै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएका परीक्षणमा काठमाडौंका १४ जनामा र ललितपुरका १ जनामा संक्रमण पाइएको छ ।

यसैगरी नेपाल प्रहरी अस्पताल महाराजगञ्जको प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका ११ जनामा संक्रमणको पुष्टि भएको छ । उता पाटन अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका २ जनामा र ललितपुरका २ जनामा संक्रमण देखिएको छ । यस्तै स्टार अस्पताल सानेपामा काठमाडौंका १ जनामा र ललितपुरका २ जनामा संक्रमण देखिएको छ ।

यता शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको परीक्षणमा काठमाडौंका १ जनामा संक्रमण पुष्टि भएको छ भने डी एण्ड डी ल्याबमा गरिएको परीक्षणमा काठमाडौंका १ जनामा संक्रमण फेला परेको छ । योसँगै काठमाडौंमा ५ सय ९७, ललितपुरमा १ सय १४ र भक्तपुरमा ७७ संक्रमित गरी उपत्यकामा संक्रमित हुनेको संख्या ७ सय ८८ पुगेको छ ।

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस