काठमाडौँमा ३.५ रेक्टर स्केलकाे भूकम्प

काठमाडौँ, साउन २१ गते । काठमाडौँमा ४.३० बजे भूकम्पको धक्का महसुस गरिएको छ । साे भूकम्प ३.५ रेक्टर स्केलकाे भएकाे र ललितपुरका बङ्गलामुखी केन्द्रविन्दु रहेकाे
राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । याे भूकम्प गाेरखा भूकम्पकाे पराकम्प नभई नयाँ भूकम्प भएकाे जनाइएकाे छ ।

विराटनगर, साउन २१ गते । कोशी अस्पताल विराटनगरको कोभिड–१९ उपचार केन्द्रबाट ९० वर्षीया वृद्धाले दश दिनमै कोरोना सङ्क्रमण परास्त गरेर घर फर्कनुभएको छ ।
विराटनगर–६ निवासी मधु भट्टराई अस्पताल भर्ना भएको दशदिनकै दिन डिस्चार्ज भएर घर फर्कनुभएको हो ।

एउटै घरबाट चारजना पोजिटिभ देखिएपछि अस्पताल भर्ना भएका परिवारका सासु र बुहारीले बुधबार कोरोना सङ्क्रमण परास्त गर्नुभएको हो । छोरा र नातिभन्दा अघि नै ९० वर्षीया ज्येष्ठ नागरिकले कोरोना परास्त गर्नुभएपछि सामाजिक विकास मन्त्री जीवन घिमिरेले उहाँलाई अस्पताल पुगेर सम्मानसहित बिदाइ गर्नुभयो ।

साउन १९ गते अस्पताल भर्ना हुनुभएकी भट्टराईमा कोरोना लक्षण देखिएको थिएन । मधुमेह, उच्च रक्तचापसहित समस्या भएपनि भट्टराईमा लक्षण नदेखिएको र स्वास्थ्य अवस्था स्थिर रहेपछि १० दिनको दिन स्वाब सङ्कलन गरिएको थियो ।

कोशी अस्पताल विराटनगरका मेडिकल सुपरिन्टेन्डेन्ट डा. चुमनलाल दासका अनुसार ३१ जनाको स्वाब मङ्गलबार सङ्कलन गरिएको थियो । बुधबार आएको रिपोर्टमा २१ जनाको नेगेटिभ देखिएको हो । जसमा ९० वर्षीया भट्टराईको समेत नेगेटिभ देख्दा हाम्रो खुशीको सीमा नै रहेन, मेसु दासले भन्नुभयो, ‘उहाँको स्वास्थ्यको चिरस्थायित्वकाे कामना गर्दछौँ ।’

उपचारमा संलग्न चिकित्सकले लक्षण पनि नदेखिएको र स्वास्थ्य अवस्था समेत सामान्य र स्थिर देखिएका कारण १० दिनमै स्वाब सङ्कलनका लागि सल्लाह दिएका हुन् । उहाँलाई अस्पतालबाट बिदाइ गर्दै सामाजिक विकास मन्त्री जीवन घिमिरेले कोरोना सङ्क्रमणको जोखिम नयाँ चरणमा प्रवेश गरेपनि यसविरुद्ध लड्न नयाँ योजना तयार पारिरहेको बताउनुभयो । उहाँले जोखिमयुक्त पेसा अङ्गाल्ने सुरक्षाकर्मी र स्वास्थ्यकर्मीमा देखिएको सङ्क्रमण नियन्त्रणमा प्रभावकारी कदम चाल्नका लागि योजना बनाइरहेको जानकारी दिनुभयो ।

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस