भक्तपुरमा स्कुटरको ठक्करबाट महिलाको मृत्यु

काठमाण्डौ – चाँगुनारायणबाट भक्तपुरतर्फ आउँदै गरेको प्रदेश ३–०२–०१५ प ७२६५ नंको स्कुटरले भक्तपुर नगरपालिका १० भक्तपुर–चाँगु सडक वान्टीमा ठक्कर दिँदा पैदलयात्रीको आज मृत्यु भएको छ । स्कुटरको ठक्करबाट भनपा–२ भोलाछे बस्ने ४१ वर्षीया सुन्दरी सुवालको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुृरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो ।

स्कुटरले उहाँलाई हिजो दिउँसो करिब २ः२० बजे ठक्कर दिएको थियो । प्रहरीले घाइतेलाई उपचारका लागि भक्तपुर अस्पताल लगेकामा त्यहाँ उपचार हुन नसकेपछि वीर अस्पताल ट्रमा सेन्टर पठाइएको र त्यहाँ पनि उपचार हुन नसकेपछि राति न्यूरो अस्पताल बाँसबारी पठाइएकामा उपचारकै क्रममा आज बिहान ८ बजे मृत्यु भएको प्रनाउ गिरीले जानकारी दिनुभयो । प्रहरीले स्कुटर चालक चाँगुनारायण नपा–६ छालिङका २२ वर्षीय आशीष कार्कीलाई पक्राउ गरी अनुसन्धान शुरु गरिएको जानकारी दिएको छ ।

ट्र्याक्टर दुर्घटनामा सहचालकको मृत्यु

पर्वतको मोदी गाउँपालिका–६ तिलाहारस्थित रातमाटामा ट्र्याक्टर दुर्घटना हुँदा सोही ट्र्याक्टरका सहचालकको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा मोदी गाउँपालिका–५ बाजुङका २१ वर्षीय विजय नेपाली छन् । मोदी गाउँपालिका–७ राम्जा देउरालीबाट वडा नं २ देउपुरतर्फ आउँदै गरेको ग१त ६२७९ नम्बरको खाली ट्र्याक्टर मङ्गलवार राति १०ः३० बजे अचानक सडकबाट तल खस्दा नेपालीको मृत्यु भएको हो ।

अन्दाजी १२ मिटर तल खसेको ट्र्याक्टरले किचेर नेपालीको घटनास्थमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनालगत्तै जिल्ला प्रहरी कार्यालय पर्वतबाट गएको टोलीले ट्र्याक्टरका चालक मोदी गाउँपालिका–२ का सन्तोष विकलाई नियन्त्रणमा लिई थप अनुसान्धान भइरहेको प्रहरीले जनाएको छ । कच्ची भिरालो बाटोमा तीव्र गतिमा गुडाएका कारण दुर्घटना भएको हुन सक्ने अनुमान प्रहरीको छ ।

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस