नागरिकमा खानेपानीको पहुँच विस्तारको लक्ष्य पूरा गर्न अझै मिहिनेत गर्नुपर्छ – खानेपानीमन्त्री

काठमाडौं । गत आर्थिक वर्षमा खानेपानी मन्त्रालयको समग्र भौतिक प्रगति ८० प्रतिशत पुगेको छ । मन्त्रालयअन्तर्गत १४ आयोजना सम्पन्न हुँदा एक लाख ९० हजार २९२ जनसङ्ख्या उच्च तथा मध्यमस्तरको खानेपानी सेवाबाट लाभान्वित भएका छन् ।

मन्त्रालय र मन्त्रालय मातहत रहेका विभिन्न निकायले आव २०७६/७७ मा गरेका भौतिक तथा वित्तीय प्रगतिबारे तेस्रो चौमासिक एवं वार्षिक समीक्षा बैठकमा सहसचिव अरुण सिंखडाले गत आवमा समग्र भौतिक प्रगति ७३ र वित्तीय प्रगति ७८ प्रतिशत रहेको बताए । बैठकमा राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रतिनिधिसमेत सहभागी थिए ।

खानेपानी तथा ढल व्यवस्थापन विभागको खानेपानी विभागअन्तर्गत रहेका खानेपानी सेवा विस्तार तथा पुनर्स्थापना कार्यक्रमको भौतिक प्रगति ८७, खानेपानी गुणस्तर सुधार कार्यक्रमको प्रगति ८९, तेस्रो साना सहरी खानेपानी आयोजनाको प्रगति ७६ र सहलगानी खानेपानी तथा सरसफाइ आयोजनाको प्रगति ७३ प्रतिशत रहेको महानिर्देशक सुनिलकुमार दासले जानकारी दिए ।

त्यसैगरी बैठकमा राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाको भौतिक प्रगति ९२ दशमलव ८८ प्रतिशत रहेको बैठकमा जानकारी गराइयो । मेलम्ची आयोजनाले गएको आवको अवधिमा हेडवर्कस डाइभर्सन सुरुङ सञ्चालन गरिएको र समग्र हेडवर्कसको काम ७० प्रतिशत सकिएको जनाएको छ ।

आव २०७६/७७ मा ५४ वटा क्रमागत सहलगानीका आयोजनामध्ये ६ वटा सम्पन्न भई ४६ हजार ५३४ जनसङ्ख्या लाभान्वित भएका छन् । तेस्रो साना सहरी खानेपानी आयोजनाअन्तर्गत दुई आयोजना सम्पन्न भई ५० हजार ५७० लाभान्वित भएको र खानेपानी गुणस्तर सुधार कार्यक्रमअन्तर्गत निर्माणाधीन ६१ आयोजनामध्ये चारवटा सम्पन्न भई करीब ६१ हजार ७४३ जनसङ्ख्या लाभान्वित भएको जानकारी मन्त्रालयका सहसचिव सिंखडाले दिए ।

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस