निषेधाज्ञा, सुनसान बजार क्षेत्र

गौर, साउन २४ गते । समुदायमा कोरोना सङ्क्रमण देखा पर्न थालेपछि जिल्ला प्रसाशन कार्यालय रौतहटले शनिबारदेखि एक साताका लागि जिल्लाभरि निषेधाज्ञा जारी गरेको छ ।
जिल्लाभरि निषेधाज्ञा जारी गरेपछि सदरमुकाम गौर, पिपरा, गरुडा, समनपुर, चन्द्रपुर, कटहरियालगायत ग्रामीण भेगका बजार, पसल, यातायात बन्द रहनाले सुनसान रहेको हो ।
कोरोनासङ्क्रमण फैलिन नदिन स्थानिय प्रशासनले जारी गरेको निषेधाज्ञामा अत्यावश्यक कार्यबाहेक घरबाहिर निस्कन रोक लगाइएको तथा यसको उल्लघङ्न गर्नेलाई कानूनबमोजिम कार्यबाही हुने जिल्ला प्रसाशन कार्यालय रौतहटले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले कोरोना भाइरस जिल्लाको विभिन्न नपाको समुदायमा देखा पर्न थालेको तथा बजार क्षेत्रमा भीडभाड बढ्न थालेको हुँदा कोरोना सङ्क्रमण फैलिन नदिन तथा सङ्क्रमण रोकथामका लागि रौतहट जिल्लाभरि साउन २४ गतेदेखि ३२ गतेसम्मका लागि निषेधाज्ञा लगाउने निर्णय गरिएको हो ।
अत्यावश्यक कामबाहेक कुनै पनि व्यक्ति घर बाहिर निस्कन पूर्ण रुपले प्रतिबन्ध, स्वास्थ्य, विद्युत, सञ्चार, खानेपानी, फोहारेमैला, व्यवस्थापन, ग्यास ढुवानी, औषधि, खाद्यान्न सामग्रीलगायत आपूर्तिबाहेक अन्य सेवाहरू निषेध गरिएको जिल्ला प्रसाशन कार्यालय रौतहटका नायब सुब्बा रामनरेश साहले बताउनुभयो ।
समुदायमा कोभिड १९ को सङ्क्रमण देखापरेपछि सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ तथा सङ्क्रामक राेग ऐन २०२० को दफा २ बमोजिम साउन २४ गतेदेखि ३२ गतेसम्म जिल्लाभरि निषेधाज्ञा आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले बताउनुभयो ।

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस