काठमाडौं उपत्यकामा ६२ संक्रमित थपिए, उपत्यकामा संक्रमितको संख्या १ हजार नाघ्यो

काठमाडौं, २४ साउन । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ६२ संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६२ संक्रमित थपिएका हुन् ।जसमध्ये काठमााडौंमा मात्र ५६ संक्रमित थपिएका छन् भने ललितपुर र भक्तपुरमा ३÷३ संक्रमित थपिएका छन् । योसंगै काठमाडौं उपत्यकामा संक्रमितको संख्या एक हजार ४४ पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुको प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका ४ जनामा संक्रमणको पुष्टि भएको मन्त्रालयले जनाएको छ । यसैगरी पाटन अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका ५ जना र ललितपुरका ३ जनामा संक्रमण पाइएको छ भने वीर अस्पतालमा काठमाडौंका १ जनामा संक्रमणको पुष्टि भएको छ ।

यता शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको परीक्षणमा काठमाडौंका १ जनामा संक्रमण पुष्टि भएको छ भने नेपाल प्रहरी अस्पतालमा काठमाडौंका २९ जनामा संक्रमण देखिएको छ । यस्तै स्टार अस्पताल सानेपाको प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका १२ जनामा संक्रमण देखिएको छ ।

यता बीडीएलबी ल्याब काठमाडौंमा गरिएएको परीक्षणमा काठमाडौंका २ जनामा संक्रमण पुष्टि भएको छ भने नेपाल कोरिया मैत्री अस्पताल भक्तपुरमा गरिएको परीक्षणमा भक्तपुरका ३ जना र काठमाडौंका ३ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै काठमाडौंमा संक्रमितको कुल संख्या ८ सय २६ , ललितपुरमा १२७ र भक्तपुरमा ८५ संक्रमित गरी उपत्यकामा संक्रमित हुनेको संख्या कुल संख्या १ हजार ४४ पुगेको छ ।

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस