उपभोक्ता ठग्ने र म्याद नाघेका सामान बेच्ने भाटभटेनीका दुई शाखा कारवाहीमा

काठमाडौं, २६ साउन । कोरोना भाइरसको सङ्क्रमणको जोखिमका समयमा पनि उपभोक्ता ठूला सुपरमार्केटबाट निरन्तर ठगिने क्रम बढ्न थालेको छ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरिरहेको बजार अनुगमनका क्रममा पनि आधुनिक उपकरण जडान गरिएका भाटभटेनीबाट उपभोक्ता निरन्तर ठगिरहेको प्रतिवेदन सार्वजनिक भएको छ।

विभागले प्रत्येक दिन गरेको अनुगमनको विवरण वेबसाइटमार्फत सार्वजनिक गर्दै आएको छ। गतचैत ११ गते कोरोना भाइरसको सङ्क्रमणबाट बच्न बन्दाबन्दी लागू गरिएपछिको अवधिमा भाटभटेनीका दुई वटा शाखा कारवाहीमा परेको विभागले जनाएको हो। यस अवधिमा भाटभटेनीको नक्साल र अनामनगर शाखा कारवाहीमा परेका हुन्।

भाटभटेनी सुपरमार्केटले उपभोक्ताबाट नयाँ तरिकाबाट बढी पैसा असुल्ने गरेको छ। भाटभटेनीले सहुलियत दरमा सामान बिक्री गर्ने गरेको दाबी गरे पनि उपभोक्ताबाट पैसा लिई फिर्ता गर्ने बेलामा भीडभाडको मौका छोपी कम दिएर ठग्ने नयाँ शैली उपयोग गरेको बानेश्वरका पीडित उपभोक्ता राजेन्द्र कार्कीले बताए। अनामनगर शाखाले सामान किनेपछि पैसा फिर्ता गर्दा भीडभाडको मौका छोपी ९० रुपैयाँ कम फिर्ता दिएको उनले बताए।

भाटभटेनी सुपरमार्केटबाट सामान लिई बिल तिरेर फर्कने बेलामा काउन्टरमा भीड भएको मौका छोपी दिनुपर्ने भन्दा कम पैसा फिर्ता गरिएको उहाँले बताउनुभयो।

कोरोनाका कारण भीडभाडमा नबसौँ भनी भाटभटेनीमा माइकिङ भइरहेको हुन्छ। भाटभटेनीबाट पैसा फिर्ता लिई फर्केर बाहिर आई हेर्दा कम भेटिने गरेको पीडित उपभोक्ताको गुनासो छ। सिसीटिभी क्यामेरासमेत जडान गरिएको भनिएको भाटभटेनीमा यस विषयमा गुनासो गर्दा पनि सुनुवाइ नहुने गरेको उहाँको गुनासो छ।

भाटभटेनीको अनामनगर शाखाका व्यवस्थापक अजय लामा उपभोक्तालाई दिनुपर्नेभन्दा कम पैसा दिइएको उजुरीका आधारमा सिसीटिभीको फुटेज परीक्षण गर्दा कमजोरी भएको भेटिएको स्वीकार गर्छन्। कम पैसा फिर्ता दिने कर्मचारीलाई आइन्दा गल्ती दोहोर्‍याए कारवाही गर्ने चेतावनी दिइएको पनि उहाँले बताउनुभयो।

ठूलो सुपरमार्केट भएर पनि भाटभटेनीमा गुणस्तरीय सामान नपाइएको चुच्चेपाटीकी डोल्मा शेर्पाले गुनासो गरिन्। भाटभटेनीबाट ल्याएको तरकारी भित्रभित्र कुहिएको हुने गरेको उहाँको भनाइ छ। भाटभटेनी आफैँले प्याकिङ गरेको दालको पोकाभित्र प्रसस्त ढुङ्गा भेटिने गरेको पनि उपभोक्ताको दुःखेसो छ। यस्ता सुपरमार्केटलाई पारदर्शी रूपमा गुणस्तरीय सामान बिक्री गराउन निरन्तर बजार अनुगमन गरिनुपर्ने माग पनि उपभोक्ताले गरेका छन्।

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस