अवैध सम्बन्धले निम्त्याएको फिल्मी शैलीको हत्या !

२७ साउन, काठमाडौं । आइतबार विहानै गोंगबुको नवज्योति मार्गमा फालिएको सुटकेसमा टाउको र खुट्टा नभएको शव भेटियो । त्यसको करिव ३०० मिटर पर टाउको र खुट्टा भएको जेब्रा झोला प्रहरीको तालिम प्राप्त कुकुर जोजोले भेट्टायो ।

मृतकको पहिचान त भएको थिएन, तर शवको प्रकृति हेर्दा निरन्तर हतियार चलाएका व्यक्ति हत्यामा संलग्न हुनसक्ने प्रहरीको अनुमान थियो ।

जब मृतकको पहिचान भयो, चितवनबाट कल्पना मुडवरी पौडेल पक्राउ परिन् । प्रहरीले उनको विवरण तत्काल सार्वजनिक गरेन, किनकी हत्यामा अरु पनि संलग्न हुनसक्छन् र पौडेलबाट सूचना लिएर उनलाई पक्राउ गर्न सकियोस् भन्ने प्रहरीको अपेक्षा थियो ।

तर पौडेलसँगै उनका छोराछोरीको बयान, घटना भएको कोठाबाट बरामद भएका दसी प्रमाण, कल डिटेल रेकर्ड (सीडीआर) लगायत सबैले घटनामा उनको मात्र संलग्नता देखिएको छ । घटनाको अनुसन्धानमा संलग्न एक अधिकृत भन्छन्, ‘जुन प्रकृतिले हत्या भएको छ, त्यसमा उनको मात्र संलग्नता विश्वास गर्न गाह्रो थियो । तर पौडेलको बयानले हामीलाई नै चकित बनाइदियो ।’

काठमाडौं प्रहरी प्रमुख एसएसपी श्यामलाल ज्ञवाली भन्छन्, ‘यो अपराधको कथा भारतीय सिरियल क्राइम पट्रोल, डायल १०० हरुमा देखाइने घटना जस्तै छ ।’

अपराधस्थलमा पौडेल र दुई छोराछोरीबाहेक अरुको उपस्थिति हुनसक्ने आधार नभेटेपछि प्रहरीले मंगलबार अभियुक्तलाई सार्वजनिक गरेको छ । उनीसँगै १५ वर्षीया छोरी पनि पक्राउ परेकी छन् । तर नाबालिका भएकाले उनलाई सार्वजनिक गरिएको छैन । एसएसपी ज्ञवालीका अनुसार शव व्यवस्थापनमा आमालाई सघाएकी छन् । सँगै रहेको छोरा उनीभन्दा कम उमेरका छन् भने घटनाबारे कुनै जानकारी छैन ।

खानपिन गर्न बोलाएर हत्या

अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी दीपक थापाकाअनुसार ज्यान गुमाउने बोहरा गत मंसिर महिनादेखि मित्रनगरस्थित नर्सिङधाम गेस्ट हाउसमा बस्दै आएका थिए ।

होटलका सञ्चालक दिपेन्द्र छत्कुलीका अनुसार बोहरा शनिबार अपरान्ह त्यहाँबाट निस्किएका थिए । ‘बल्ल एक जना मान्छे भेटेको छु, एक÷दुई दिन नआउन पनि सक्छु भन्दै निस्किनु भएको थियो’, उनले अनलाइनखबरसँग भने, ‘मोबाइल स्वीच अफ पनि हुनसक्छ भनेकाले मैले पनि फोन गरेको थिइन ।’

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस