रहेनन् नेपालबाट पहिलो अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता खेलेका इन्द्रसिंह सुब्बा

नेपालको राष्ट्रिय फुटबल टिमबाट पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका इन्द्रसिंह सुब्बाको निधन भएको छ। सुब्बाको मंगलबार विहान ८४ वर्षको उमेरमा बाँसबारीस्थित गंगालाल अस्पतालमा निधन भएको हो।

एक महिनाअघि अल्का अस्पतालमा भर्ना भएका सुब्बालाई मुटुमा समस्या देखिएपछि गंगालाल लगिएको थियो।
उनको निधनको पुष्टि गर्दै अखिल नेपाल फुटबल संघका वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङले श्रद्धान्जली व्यक्त गरेका छन्।
सन् १९६३ मा नेपालको राष्ट्रिय फुटबल टिम पहिलो पल्ट अन्तर्राष्ट्रिय प्रतियोगिता आगाँ खाँ गोल्डकप खेल्न पूर्वी पाकिस्तान (हालको बंगलादेश) जाँदा सुब्बा नेपाली टिमका सदस्य थिए।

नर शमशेर राणाको नेतृत्वमा गएको नेपाली टोलीमा १८ खेलाडी र ३ व्यवस्थापक समावेश थिए। तर, टिममा प्रशिक्षक थिएनन्। किनभने त्यतिबेलासम्म नेपालमा प्रशिक्षकबिना नै फुटबल खेल्ने गरिन्थ्यो।

नेपाली टिममा गजेन्द्र बस्नेत, अफताब उद्दिन, जनकशमशेर थापा, ज्ञान धाख्वा, आरबी राजा, बी बिष्ट, नरशमशेर राणा, विजयकुमार श्रेष्ठ, प्रकाशविक्रम शाह, प्रभुधन सुब्बा, बाबा गुरुङ, अमर थापा, बीआर थापा, पदम श्रेष्ठ, कोमल पाण्डे, विष्णु बराल, इन्द्रसिंह सुब्बा, लक्ष्मणविक्रम शाह, शालिग्राम अधिकारी र ज्ञानबहादुर श्रेष्ठ थिए।

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस