काेराेना संक्रमणबाट काठमाडाैं उपत्यकामा थप दुई जनाको मृत्यु

काठमाडौं, २८ साउन । काठमाडौं उपत्यकामा कोरोना संक्रमणबाट थप दुई जनाको मुत्यु भएको छ । ललितपुरको भैंसेपाटीस्थित नेपाल मेडिसिटी अस्पताल र ललितपुरकै किस्ट अस्पतालमा एक/एक जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

मेडिसिटी अस्पतालमा जनकपुरका ७१ वर्षीय कोरोना संक्रमित पुरुषको उपचारको क्रममा मंगलबार राति साढे १२ बजे मृत्यु भएको हो । पाटन अस्पतालका प्रवक्ता विष्णु शर्माले उनको गएराति निधन भएको जानकारी दिनुभयाे ।

निमोनिया, झाडापखारा र श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई साउन ५ गते मेडिसिटी अस्पतालमा भर्ना गरिएको शर्माले जानकारी दिनुभयो ।

त्यस्तै किस्ट अस्पतालमा ७८ वर्षीया महिलाको मृत्यु भएको हो । उनको मंगलबार राति सवा १ बजे मृत्यु भएको किस्ट अस्पतालले जनाएको छ । ती महिलाको बुधबार बिहानआएको रिपोर्ट कोरोना पोजेटिभ छ ।

ती महिलालाई दुई दिनअघि किस्ट अस्पताल भर्ना गरिएको थियो । उनलाई ज्वरो, झाडापखाला र बान्ता भएको थियो।

अरू अस्पतालले उपचार गर्न नमानेपछि उनलाई पाटन अस्पताल ल्याइएको थियो । पाटन अस्पतालले पनि किस्टमा रेफर गरिदिएको किस्ट अस्पतालका प्रमुख कार्यकारी अधिकत अमिश पाठकले जानकारी दिनुभयो ।

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस