हेटौंडा अस्पतालमा हिजोदेखि थियो पत्रकार बानियाँको शव, आज काठमाडौंबाट फोटो पठाएपछि भयो पहिचान

कान्तिपुर दैनिकका बरिष्ठ पत्रकार बलराम बानियाँको शव मंगलबार भेटिएको तथ्य खुलेको छ।

मकवानपुर जिल्ला प्रहरी कार्यालयका डिएसपी इन्द्रबहादुर रानाका अनुसार उनको शव मंगलबार दिउँसो करिब साढे १ बजेतिर फेला परेको थियो।

भीमफेदी गाउँपालिका-८ स्थित मान्डु हाइड्रोपावरको ड्याममा च्यापिएको अवस्थामा स्थानीयले शव देखेका थिए।

‘बगाउँदै ल्याएको शव ड्यामका डन्डीहरूमा च्याप्पिएको अवस्थामा फेला परेको थियो। पानीको तह घट्दै गएपछि शव देखिएको थियो,’ डिएसपी रानाले सेतोपाटीसँग भने,’शव देखेपछि स्थानीयले प्रहरी कार्यालयलाई सम्पर्क गरेका थिए।’

मंगलबार नै जिल्ला प्रहरी कार्यालयबाट इन्स्पेक्टरको टोली खटिएको थियो। उक्त टोली भने टाढा भएको हुदाँ बेलुकीमात्रै घटनास्थल पुगेको थियो।

‘उनको शव स्थानीय प्रहरीले नै निकालेको थियो, इन्स्पेक्टरको टोलीले शव हेटौंडा ल्याएर आएको हो,’ उनले भने।

मंगलबार नै शव भेटिए पनि सनाखत भने भइसकेको थिएन। उनको शरिरमा लुगा नभएकाले प्रहरीलाई पहिचान गर्न कठिन भएको थियो।

‘शवको सनाखत भइसकेको थिएन, आज बिहान काठमाडौंमा तस्बिर पठाएपछि मात्रै उनी हुन् भन्ने पहिचान भएको हो,’ उनले भने,’काठमाडौंबाट परिवारले पहिचान गरेको कुरा आएको छ।’

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस