गाइभैँसीमा पहिलो पटक लम्पी स्किन रोग देखियो

काठमाण्डौ – मान्छेमा कोरोना भाइरसको जोखिम बढिरहेका बेला गाईभैँसीमा अर्को महामारीको संकेत देखिएको छ । त्यो रोग हो, लम्पी स्किन । यो रोग नेपालमा पहिलो पटक देखिएको हो ।

पूर्वी जिल्लामा देखिएको लम्पी स्किनका बारेमा सम्बन्धित मन्त्रालय र पशुसेवा विभागले चासो देखाएर सजग रहन आग्रह गरेका छन् । यो रोग लागेको दुधालु पशुहरुको ८० प्रतिशत दूध नष्ट हुने भएकाले दूध उत्पादनमा लागेका किसानले ठूलो नोक्सानी बेहोर्नुपर्ने सम्भावना भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । विशेषगरी गाईहरुमा र कहिलेकाँही भैँसीमासमेत देखिने यो रोग अहिलेसम्म मोरङ, चितवन र मकवानपुरका ३४ वटा नमुना परीक्षण गर्दा सबैमा पोजेटिभ भएको पाइएको छ ।

ती ठाउँका १ हजार ५ सय गाईहरुमा यो रोग भेटिएको छ । अहिलेसम्म १२ वटा गाईहरु यो रोगबाट मरेका पुष्टि भएको छ । देशका अरु ठाउँमा पनि यो रोगसँग मिल्दोजुल्दो लक्षण देखिएका खबर आएको कृषि विभागका महानिर्देशक डा वंशी शर्माले जानकारी दिनुभयो ।

घाँटी, पुच्छर वरिपरिको भाग, पेट थुन लगायतका शरीरका विभिन्न भागहरुमा गिर्खा देखिने, कचेरा आउने, सिँगान बग्ने, मुखबाट धेरै फिँज निकाल्ने, ८० प्रतिशतसम्म दूध उत्पादन घट्ने, बाँझोपन हुने यो रोगका लक्ष्यण हुन् ।

यो रोग लागेपछि ४५ प्रतिशत गाइभैँसी बिरामी पर्ने हुन्छन् भने मृत्युदर १० प्रतिशत हुने गरेको छ । यो रोग मुख्यतया लामखुट्टे, झिँगा र किर्नाको टोकाइबाट सर्छ । योबाहेक गाइभैँसीको लसपस र ओसारपसार, संक्रमित र स्वस्थ गाइभैँसीको उपचारका क्रममा एउटै सुईको प्रयोग र प्राकृतिक तथा कृत्रिम गर्भाधानमा संक्रमित साँढेको वीर्यको माध्यमबाट पनि सर्छ ।

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस