कोरोनाका मृतकले पाउँदैनन मलामी पाउँछन सलामी

बागलुङ, साउन ३० गते । बागलुङको निसीखोला गाउँपालिका–२ का २९ वर्षीय सुनिल विकको असार २१ गते क्वारेन्टाइनमा मृत्यु भयो । कोरोना सङ्क्रमण फैलिएसँगै भारतमा मजदुरी गुमाएपछि असार २ गते गृह जिल्ला फर्केर ढोरपाटन नगरपालिका–४ खुङ्गाको छोरेगाउँ माविको क्वारेन्टिनमै रहेको अवस्थामा विक मृत्यु भएको थियो ।

विक नेपाल फर्कँदै गर्दा भारतमा कोरोना सङ्क्रमण तीव्र रुपमा फैलिएको थियो । जोखिम क्षेत्रबाट आएको कारण विकको पनि असार १२ गते कोरोना परीक्षण गर्न स्वाब सङ्कलन गरी कोरोना परीक्षण गर्न पोखरा पठाइयो । तर कोरोना रिपोर्ट मृत्युपछि मात्र सार्वजनिक भयो ।

विदेशबाट सुरक्षाको खोजीमा घर फर्केका विकले जिउँदो छँदा रिपाेर्ट ढिला आउँदा उपचार त पाउनुभएन, मृत्युपश्चात मलामीसमेत भएनन् । कारण मृत्युपश्चात कोरोना सङ्क्रमण भएको पुष्टि भएको थियो । सरकारले कोरोना सङ्क्रमितको शव व्यवस्थापन नेपाली सेनाले गर्ने निर्देशिका जारी गरेको हुँदा विकलाई मृत्युपश्चात न त आफन्तले पानी खुवाउन पाएन न त मलामी भएर घाटसम्म पुगे ।

‘जिउँदाको जन्ती, मर्दाको मलामी’ भन्ने नेपाली उखानलाई कोरोनाले बन्देज लगाइदिएको छ । तामझामका साथ हुने विवाह पनि बन्द भएको छ भने मृतकले मलामी पनि पाउँदैनन् ।
सङ्क्रमितको मृत्युपश्चात पनि कोरोना फैलने त्रासले गर्दा सङ्क्रमितको शव व्यवस्थापनलाई विशेष निर्देशिका छ । जिल्ला सुरक्षा समितिको समन्वयमा नेपाली सेनाले शवको व्यवस्थापन गर्छ । विकको शव पनि ढोरपाटन नगरपालिका लुकुरवनको खोला किनारमा नेपाली सेनाको अर्जुनवाण गणअन्तर्गतका सत्रुमर्दन गुल्मका तीन जना सैनिकले अन्तिम सलामी अर्पण गरी अन्त्येष्टि गरेका थिए ।

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस