रुपन्देहीमा कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु

रुपन्देही – कोरोना भाइरस सङ्क्रमणका कारण लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचाररत बिरामीको मृत्यु भएको छ । तीन दिनअघि अस्पतालमा भर्ना भएका कपिलवस्तुका ४२ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ । फोक्सोमा समस्या देखिएपछि उहाँलाई सघन उपचार कक्षमा राखेर उपचार गर्नेक्रममा मृत्यु भएको अस्पतालका प्रवक्ता डा विष्णु गौतमले जानकारी दिनुभयो । उहाँको प्रारम्भिक पिसिआर रिपोर्ट नेगेटिभ आए पनि पुनः गरिएको परीक्षण रिपोर्ट भने पोजेटिभ आएको छ ।

उहाँ अस्पताल आउँदा नै फोक्सोमा गम्भीर समस्या देखिएकाले आइसियुमा राखेर उपचार गरिएको अस्पतालले जनाएको छ । अहिले लुम्बिनी प्रादेशिक अस्पतालमा दुई र कोरोना विशेष अस्पतालमा २९ कोरोना सङ्क्रमितको उपचार भइरहेको प्रवक्ता गौतमले बताउनुभयो ।

कोरोना निको हुने दर उच्च

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको निको हुने दर उच्च रहेको छ । प्रदेशमा शुक्रबार साँझसम्म एक हजार ६८२ जना सङ्क्रमित भएकामा एक हजार ५२० जना अर्थात् ९० दशमलव ३७ प्रतिशत निको भएका छन् । सङ्क्रमितमध्येमा १५७ जना विभिन्न जिल्लास्थित आइसोलेसन कक्षमा उपचार गराइरहेका छन् भने पाँच जनाको कोरोनाका कारण मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

सक्रिय कोरोनाको प्रतिशत नौ दशमलव ३३ रहेको छ भने मृत्यु हुने प्रतिशत शून्य दशमलव ३० छ । म्याग्दीमा ४८ सङ्क्रमित रहेकामा सबै जना निको भएपछि घर फर्केका छन् । म्याग्दीमा सक्रिय बिरामी छैनन् ।

कास्कीमा १९५ सङ्क्रमित भएकामा १४५ जना उपचारपछि निको भएर घर फर्केका छन् भने सक्रिय केस ४९ जना छन् । कास्कीमा एक जनाको मृत्यु भएको छ ।

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस