इँटा भट्टामा काम गर्ने १४ वर्षकी जुनताराको कथा, यो कस्तो विडम्बना हेर्नुहोस मनछुने छ ( भिडियो सहित )

काठमाडौं / राजनीतिक परिवर्तनको उर्बर भूमिमा उनीहरु जन्मिए । दाङ र रोल्पामा खान लाउन पुगेन । काठमाडौं छेउका उर्बर भूमिमा खुलेका इँटाभट्टाले उनीहरुलाई बोलायो । उनीहरु गाउँलाई छाडेर आए । रहरलाई छाडेर आए । परिवारलाई छाडेर आए । किर्तिपुरपारि फाँटको इँटाभट्टा एकाविहानै जाग्छ । सँगै जाग्छन् यहाँका मिनी रोल्पा र दाङहरु ।

हरेकका अनेक कथा छन्। अनगिन्ति व्यथा छन्।सपनाहरु त गाउँतिरै छोडेर आइसके। केवल हातमुख जोर्ने बाध्यता छ । कमजोर शरिर अनि कमसल खान्की । तर भारी बोक्ने प्रतिस्पर्धा छ । एक एक इँट्टा बोकेको हिसाब सप्ताहन्तमा पाइन्छ । हजार बोक्दा ३ सय कमाइन्छ । जुनताराले झ्याउलीको दैलो उघारिन् । फागुनमा डालेघाँस काट्न घरबाट हिँडेकी जुनतारालाई नाइटबसले नैकापमा झारिदिएको थियो, उस्तै बाध्यताबाट आँट बटुलेका संगीहरुसँगै । ११ बजेदेखि २ बजेसम्म खाना पकाएर खाने छुट्टी हुन्छ । जुनताराकी फुपु र भाउजु पनि झ्याउली आइपुग्छन् ।

यति नै बेला झ्याउलीमा सबैजना भेटिन्छन् । सबैको अआफ्नै धुन हुन्छ । कोही पकाउन थाल्छन् । कोही हिजोको भाँडा माझ्न । कोही भोक बिर्सेर थकाई मार्छन् ।

मनहरु पनि पाकेको इँटाजस्तै भइसके । अब दुख्न बाँकि ठाउँ नै छैन । १९ वर्षकी विपना परियारले पिठ्युमा बोकेकी छोरीलाई सन्चो थिएन । केही महिनाअघि विपनाको ६ महिनाको छोरो बितेको थियो । दुई जिउकी गीता नेपाली विहानैदेखि इँटा बोकिरहेकी थिइन् । उनी झ्याउलीमा आएर सिन्कीको झोल उमाल्ने तरखरमा छिन् । विहानदेखि मध्यान्नसम्म भारि बोकेकी गर्भवतीको खान्की देख्दा सिन्की जस्तै मन अमिलो भयो ।

कामदारका वालवच्चा हेर्नको लागि भट्टा साहुले एउटा टहरामा हेरालु राखिदिएका छन् । यही टहरालाई यहाँ स्कूल भन्छन् । धेरै केटाकेटीहरु स्कुलमा भन्दा धुलो माटो मै रमाउँछन् । कपाल फुलिसके । दाँत झरिसके । रोल्पाको आँगनमा यी आमा पनि अटाउन सकिनन् । बुढा बिते, छोराहरु परदेशिए । कान्छी छोरी साथै लिएर यो उमेरमा काठमाडौ छिरिन् ।

भोको पेटमा पढ्न सकिएन । पाँच कक्षा र सात कक्षा पढ्दै गर्दा धेरै केटीहरुलाई बाध्यताले यता डोर्यायो । दाङकी एलिना जिसीले कसो कसो एसएलसीसम्म पढिन् । त्यसैले उनले भारि बोक्ने काम गर्न पर्दैन ।

गाउँमा घाँसदाउरा गर्दा रेडियो उनीहरुको साथी थियो । यहाँ आएर उनीहरुले प्रिय रेडियोलाई बिर्सन सकेका छैनन् ।

साँझ निद्रा पर्दैन अनि उनीहरुको झ्याउली भित्रको आफ्नै रेडियो चालु हुन्छ । कलाकार बन्ने रहरलाई गाउँतिरै छाडेर आएकी जुनतारा छिनछिनमै थरिथरिको पात्रको रुपमा प्रस्तुत भइदिन्छिन् । भट्टाका थुप्रै जुनताराहरुको सपना अब काँचो माटो जस्तो थिएन । अभाव र बाध्यताका रापले रहरहरु ओइलाइसके । जेठ लागिसक्यो । अहिले त जुनताराहरु गाउँ फर्किसके होलान् । आगुँ दाङ र रोल्पाका आँगनमा खेलिरहेका अरु थुप्रै जुनताराहरु सपनाहरुलाई गाउँमै छाडेर नाइट बस चढेर आउलान् शायद ।

हेर्नुहोस् झ्याउलीका जुनतारा…

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस