सिरहाका सबै स्थानीय तहमा आजदेखि १५ दिन लकडाउन

लहान, भदौ १ गते ।  कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि जिल्ला सङ्कट व्यवस्थापन समिति सिरहाले जिल्लाको १७ वटै स्थानीय तहमा आज बिहानदेखि भदौ १५ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलको अध्यक्षतामा बसेको जिल्ला सङ्कट व्यवस्थापन समितिको बैठकले कोरोना भाइरसको सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि सिरहाको १७ वटै स्थानीय तहले आ–आफ्नो पालिकाभित्र १५ दिनका लागि लकडाउन गर्ने निर्णय गरेको हो । समितिको निर्णयअनुसार लकडाउन गर्न सबै पालिकालाई पत्राचार गरिसकेको प्रजिअ कँडेलले बताउनुभयो ।

यसैबीच कोरोना भाइरसको सङ्क्रमण समुदायस्तरमा फैलिन नदिन सिरहा नगरपालिका र गोलबजार नगरपालिकाले जारी गरेको लकडाउनलाई आजदेखि दुई साता थप गरिएको छ । सिरहा नगरपालिकाले आज बिहानदेखि १५ दिन थप लकडाउन गर्ने निर्णय गरेको छ । प्रजिअ कँडेलको अध्यक्षतामा बसेको जिल्ला सङ्कट व्यवस्थापन समितिको बैठकको निर्णयअनुसार कोरोना सङ्क्रमणलाई रोकथाम तथा नियन्त्रणका लागि आजदेखि भदौ १५ गतेसम्म लकडाउन थप गरिएको सिरहा नगरपालिकाका प्रमुख अशेश्वर यादवले जानकारी दिनुभयो ।

यसअघि सो नगरपालिकाले साउन २५ गते राति १२ बजेदेखि साउन ३२ गतेसम्म लगाइएको लकडाउन गए राति १२ बजे सकिएपछि आज बिहानबाट लकडाउनको अवधि भदौ १५ गते राति १२ बजेसम्मका लागि थप गरिएको नगरप्रमुख यादवले बताउनुभयो ।

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस