आजबाट पाँचौँ चरणका उद्धार उडान सुरु, कुन मुलुकबाट कति उडान ?

काठमाडौं, ०१ भदौ । सरकारले निर्णय गरे अनुसार आजबाट बिदेशमा अलपत्र परेका नेपालीहरुको पाँचाैं चरणकाे उद्धारका उडानहरु सुचारु हुँदैछन् । यसअघि सरकारले भदौ १ अर्थात आजबाट नियमित उडानको अनुमति दिने भनेपनि नेपालमा कोरोना संक्रमण तीव्र रुपमा फैलिएपछि १५ दिन पछि सारेको छ । तर विदेशमा अलपत्र परेका नेपालीहरुको उद्धार कार्यलाई भने निरन्तरता भदौ १ गतेबाट दिने निर्णय गरेको थियो । निर्णय अनुसार आजदेखि १५ दिनसम्म निरन्तर उद्धारका उडान हुनेछन् ।

कोरोना भाइरसको संक्रमणका कारण प्रभावित भएका नेपालीहरुको अवस्था हेरेर सरकारले स्वदेश ल्याउने निर्णय अनुसार दैनिक ५०० नेपाली आउने छन् । जसमा ३०० नेपाली आफ्नै खर्चमा आउने र २०० जना भने सरकारी खर्चमा आउन पाउनेछन् । स्वदेश फर्किने नेपाली यात्रुहरुले स्वास्थ्य परीक्षणको प्रमाण पत्र अनिवार्य समावेश गराउनुपर्नेछ । उनीहरुले पीसीआर वा आरडीटी परीक्षण नेगेटिभ आएको प्रमाणपत्र बुझाउनुपर्नेछ ।

पाँचौं चरणको उद्धार उडानका लागि कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले शुक्रबार नै ४३ वटा उडानलाई अनुमति दिइसकेको छ । यो उडान मार्फत कम्तिमा पनि ७ हजारभन्दा बढी नेपाली स्वदेश फर्किने अनुमान गरिएको छ । अनुमति पाउने विमान हरुमा नेपाल वायुसेवा निगमका १७ र हिमालय एयरलाइन्सका १५ उडान रहेका छन् ।

त्यस्तै युरोप र अमेरिकामा अलपत्र परेका नेपालीका लागि टर्किस एयरले अनुमति पाएको छ । त्यसबाहेक कतार एयर, फ्लाई दुबई, मालिन्दो एयर, जजिरा एयरवेज, कोरियन एयर, एयर अरेबिया, इतिहाद एयर र सिल्क एयरले अनुमति दिइएकाे छ ।

कुन देशबाट कति उडा ?

यसअघिका उद्धारमा सबैभन्दा धेरै नेपाली (यूएई)बाट आएका थिए । हालसम्म बिदेशमा अलपत्र परेका ५० हजार ४ सय १३ नेपालीको उद्धार भइसकेको सरकारी तथ्याङ्क छ । जसमा यूएईबाट मात्रै १४ हजार ६५ जना नेपाली घर फर्किएको तथ्यांक रहेको छ ।

यसपटक पनि सबैभन्दा धेरै उडान यूएइबाटै हुने भएको छ । पाँचौ उद्धार उडानमा (यूएई)को दुबइबाट ८, कतारको दोहाबाट ७, मलेशियाको क्लालालम्पुरबाट ६, दम्माम र अबुधाबीबाट ५-५, कुवेतबाट ३, साउदी रियाद र सारजाहाबाट २-२ र अमेरिका, जापान, जेद्दा, कोरिया र अस्ट्रेलियाबाट १-१ गरी ४३ वटा उडान हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस