कोरोनाबाट मृत्यु होइन तर पनि कोही आएनन् मलामी, छिमेकीहरु पनि घरबाहिर बसेर हेरिरहे

विराटनगर । मोरङको विराटनगर महानगरपालिका-३ मा शनिबार राति ९ बजे एक ८७ वर्षीया वृद्धाको मृत्यु भयो। उनी कोरोना भाइरस संक्रमित नभए पनि संक्रमणमा पर्ने डरका कारण कोही मलामी भएनन्। घरबाट शव उठ्ने अवस्था भएन। तब छिमेकी र प्रशासनको समन्वयमा नेपाली सेनाले संक्रमितजस्तो गरी आइतबार साँझ उनको शव व्यवस्थापन गरेको छ।

कोरोना पोजिटिभ देखिएकाको शव मात्रै सेनाले व्यवस्थापन गर्छ। नेगेटिभ देखिए शव आफन्तलाई जिम्मा लगाइन्छ।ती वृद्धाको परिवारका सदस्य भने संक्रमित छन्। उनका ५६ वर्षीय छोरा गत मंगलबारदेखि मारवाडी सेवा सदनको आइसोलेसनमा छन्। ५० वर्षीया बुहारी र २८ वर्षीय नातिको रिपोर्ट पनि पोजिटिभ आएको छ। वृद्धाको भने रिपोर्ट नेगेटिभ देखिएको छ।

मृतक वृद्धाको घर र उनको मृत्युपछि घर वरपर भेला भएका छिमेकी । तस्बिर किशोर बुढाथोकी अन्नपूर्ण
स्याहारसुसार गर्ने बुहारी र त्यही घरमा बस्ने नातिमा कोरोना देखिएपछि वृद्धाको रिपोर्ट नेगेटिभ आए पनि छरछिमेकी घरमा पसेर शव उठाउन डराएको स्थानीय कुमार धमलाले बताए। ती वृद्धामा पनि कोरोनासँग मिल्दोजुल्दो लक्षण भने देखिएको थियो। उनको मृत्युपछि बुहारी र नाति भने शव रुँघेर बसेका थिए।

उनका छोरामा कोरोना देखिएपछि पारिवारिक नाता सम्बन्धका सदस्यको परीक्षण गर्न बुधबार स्वाब संकलन गरिएको थियो। प्रदेश १ को जनस्वास्थ्य प्रयोगशालाबाट वृद्धासहित उनकी बुहारी र नातिको रिपोर्ट आइतबार बिहान मात्रै आयो। प्रयोगशालाले पटक-पटक परीक्षण गर्दा पनि वृद्धाको रिपोर्ट भने नेगेटिभ आएको जनाएपछि दाहसंस्कार गर्न परिवारका सदस्य र आफन्तलाई अनुमति दिइयो। याे खबर अन्नपूर्ण पाेस्ट दैनिकमा छ ।

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस