२ छोरी र श्रीमतीलाई छाडेर मलेसिया गएका महराकाे अचानक मृत्यु, परिवार पीडामा

रोल्पा, २ भदौ । रोल्पा नगरपालिका वडा नं २ का यमबहादुर महरा वैदेशिक रोजगारीमा गएको केही महिनामै मृत्यु भयो । बीस वर्षकाे कलिलो उमेरमा तीन र एक वर्षका दुई छोरी र श्रीमतीलाई छाडेर रोजगारीका लागि मलेसिया गएका महराको विदेशमा अचानक मृत्युभयो ।

घरको आर्थिक अवस्था कमजोर भएका कारण ऋण काढेर मलेसिया पुगेका महराको तीन महिनामा रातो बाकसमा शव नेपाल आयो । कलिला दुई छोरीको लालनपालन र विदेश जाँदाको ऋण तिर्न गाह्रो भएको पीडा श्रीेमती भावना वली व्यक्त गर्नुहुन्छ । सदरमुकाम लिवाङमा दुई छोरीलाई लिएर सँंगै बस्दै आउनुभएका भावनाले भन्नुभयो, “ सिलाइकटाइ गर्दै बच्चाहरु पालनपोषण गरेकी छु, बच्चाहरु ठूला हुँदै छन्, पढाइ खर्च पु¥याउनै गाह्रो छ ।”

साउदीको एक कम्पनीमा काम गर्दागर्दै विद्युतीय करेन्टमा परेर रोल्पा परिवर्तन गाउँपालिका –१ कुरेलीका २३ वर्षीय रामचन्द्र पुनको पनि गत असारमा मृतयु भयो । विदेश जाने युवाको सङ्ख्या घट्दै गए पनि मृत्यु हुनेको सङ्ख्या भने घट्न सकेको छैन ।
महरा र पुन त रोल्पाका प्रतिनिधि पात्र मात्रै हुन् ।

स्वेदशमा रोजगारीको सम्भावना नभएपछि विदेश जान बाध्य युवा हरेक वर्ष रातो बाकसमा फर्कने गरेका छन् । आर्थिक वर्ष २०७५/०७६ सम्म वैदेशिक रोजगारीका सिलसिलमा २९ जनाले खाडी मुलकमा ज्यान गुमाएका थिए । यसैगरी आव २०७६/०७७ मा खाडी गएका पाँच जनाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय रोल्पाले जनाएको छ ।

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस