निषेधाज्ञा एक साता थपियो

त्रिशूली, भदौ ३ गते । कोभिड–१९ को सङ्क्रमण रोक्न नुवाकोटमा जारी रहेको निषेधाज्ञा एक साता थप गरिएको छ । जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको मङ्गलबार बसेको बैठकले निर्णय गरेअनुसार गएराति १२ बजेदेखि लागू हुने गरी एक साताका लागि निषेधाज्ञा लगाइएको केन्द्रका संयोजक एवं प्रमुख जिल्ला अधिकारी झङ्कनाथ ढकालले बताउनुभयोे ।

गत साउन २५ गतेदेखि १० दिन लगाइएको निषेधाज्ञालाई निरन्तरता दिने गरेर रोगको सङ्क्रमण थप फैलन नदिन पुनः एक साताका लागि बढाइएको छ । स्थानीय प्रशासन ऐन र सङ्क्रामक रोग ऐनअनुसार जारी गरिएको निषेधाज्ञा जिल्लाको विदुर र बेलकोटगढी नगरपालिकासहित लिखु, सूर्यगढी, दुप्चेश्वर, पञ्चकन्या र शिवपुरी गाउँपालिकाको सबै स्थानमा तोकिएको छ ।

यसैगरी तादी गाउँपालिकाको वडा नं २, ३, ४ र ५, तारकेश्वर गाउँपालिकाको वडा नं २, ४, ५ र ६ र ककनी गाउँपालिकाको पासाङ ल्हामु राजमार्ग आसपासमा पर्ने वडा नं १, २, ४ र ६ का सम्पूर्ण क्षेत्रमा निषेधाज्ञा कायम हुने निर्णय गरिएको हो ।

निषेधाज्ञा जारी भएका क्षेत्रमा औषधि उपचार, खाद्यवस्तु खरिद, आफ्नै खेतबारीमा कृषिजन्य काम गर्नलगायत अति आवश्यक कामका लागिबाहेक कुनै पनि व्यक्ति घर बाहिर निस्कन नपाउने, एम्बुलेन्स, बिरामी बोकेका गाडी, खाद्यवस्तु, तरकारी, दूध, खानेपानी, पेट्रोलियम पदार्थ बोक्ने गाडी, शव वाहन, फोहर व्यवस्थापन गर्ने गाडी, पशुपक्षीका दाना बोक्ने गाडी, सञ्चारकर्मी, स्वास्थ्यकर्मी र सुरक्षा निकायले प्रयोग गर्ने साधन तथा अनुमति प्राप्त सवारी साधनबाहेक अन्यलाई चल्न नपाउने व्यवस्था गरिएको छ ।

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस