“काठमाडौ उपत्यका सिल हुन्छ, हामी कठोर हुन्छौँ, उपत्यका च्याप्पै पार्ने हो ”

काठमाडौं । काठमाडौ उपत्यकामा आजदेखि जारी गरिएको निषेधाज्ञा अरु बेलाभन्दा धेरै कडा हुने भएको छ । यसअघिका अनुभव र कानुनी आधार तथा अधिकारसहित निषेधाज्ञा जारी गरिएकाले स्थानीय प्रशासन कठोर रुपमा प्रस्तुत हुने सरोकारवालाहरुले बताएका छन् ।

काठमाडौका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले अहिलेको निषेधाज्ञा पहिलाभन्दा कडा र दण्डात्मक प्रकृतिको रहेको स्पष्ट पार्नुभयो ।अहिले जारी गरिएको आदेशहरुमा दण्डको व्यवस्था र अधिकार स्थानीय प्रशासनलाई धेरै दिइएकाले आफुहरु कठोर रुपमा प्रस्तुत हुने उहाँले जानकारी दिनुभयो ।

निषेधाज्ञाको उलंघन गर्ने र त्यसका लागि अवरोध गर्नेहरुलाई छ महिनासम्म कैद सजय हुने व्यवस्था कानुनमै रहेको प्रजिअ दाहालले स्पष्ट पार्नुभयो । उहाँले विगतका आदेश प्रभावकारी नभएकाले अहिले कडा र दण्डात्मक व्यवस्थासहितको आदेश जारी गर्नु परेको नेपाली रेडियो नेटवर्कलाई बताउनुभयो ।

प्रजिअ दाहालले भन्नुभयो, “यसपटक हामी निर्मम भएर, कठोर भएर प्रस्तुत हुनेछौँ, त्यो हाम्रो बाध्यता, अधिकार र जिम्मेबारी सवै हो । कानुनका आधारमा जारी भएको आदेश पालना गराउन हामीलाई धेरै अधिकार पनि छ ।”

प्रशासनको कारबाहीमाभन्दा पनि कोरोनाको कारबाहीमा परिएला की भन्ने सोँच्न समेत उहाँले सवैलाई आह्वान गर्नुभयो । यस पटकको तीजमा माइत नजाने, टिभीबाट, युटुयुव र रेडियोबाट गित हेर्ने सुन्ने गरेर तिज मनाउन उहाँले सुझाव दिनुभयो ।

उहाँले यस पटक काठमाडौ छिर्न पनि कोही नपाउने अठोट व्यक्त गर्नुभयो । गम्भीर प्रकृतिका विरामी, विदेश जान उडान सुनिश्चित भएका, औषधी तथा खाद्यान्नलगायतका अत्यावश्यक सेवा बाहेक सवैलाई काठमाडौ उपत्यका छिर्न पूर्ण प्रतिबन्ध लगाइएको उहाँले बताउनुभयो ।

विगतमा लुकिछिपी काठमाडौ छिर्नेहरु धेरै भएकाले यस पटक त्यसलाई समेत कडाई गरेर काठमाडौ उपत्यकालाई च्याप्पै पार्ने सिडियो दाहालले दावी गर्नुभयो ।

उहाँले भन्नुभयो, “सात दिन काठमाडौ उपत्यकालाई च्याप्पै पार्ने हो, यही बेलामा आइसियु, भेन्टिलेटरलगायतका अस्पतालका सेवा सुविधा बढाउदै जाने काम हामीले गर्नेछौँ ।”

उहाँले सात दिनपछि फेरी निषेधाज्ञा थपिन्छ की थपिदैन भनेर अहिले नै भन्न नसकिने बताउदै हेलचक्र्याई भयो भने फेरी थपिने संकेत गर्नुभयो ।

काठमाडौं, भक्तपुर र ललितपुर जिल्लामा गएराती १२ बजेदेखि आगामी १० गते राती १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ ।
तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले सरोकारवालाहरुसँगको छलफल र परामर्शपछि १७ बुँदे आदेशसहितको निषेधाज्ञा जारी गरेका हुन् ।
त्यस आदेशमा के गर्न नपाईने र के गर्न नपाइने भनेर स्पष्टसँग उल्लेख गरिएको र त्यसलाई कडाईका साथ पालना गराउन सुरक्षा निकायहरुलाई परिचालन गरिएको प्रजिअ दाहालले बताउनुभयो ।

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस