काठमाडौं ०९ भदौ / विद्युत प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङको ४ बर्षे कार्यकाल सकिन लागेको खबरले यतिबेला सामाजिक सञ्जाल तातिएको छ ।
प्राधिकरणमा कुलमान घिसिङको प्रवेशसँगै देशमा लोडसेडिङ मुक्त भएपछि फेरि अर्को ४ बर्षे कार्यकालका लागि घिसिङलाई नियुक्त गर्नुपर्ने माग भइरहेको छ । यसै बिषयमा वरिष्ठ हाँस्यकलाकार तथा लेखक हरिवंश आचार्यले फेसबुकमा यस्तो लेख्नु भएको छ :
यो देशमा अन्धकार ल्याऊनेहरु धेरै छन् तिनीहरुलाई खोजी खोजी हटाउनु पर्छ | ऊज्यालो ल्याउनेलाई सम्मान गरौ । उहॅाको ऊर्जाले देशको ऊर्जा बढ्छ ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको चार वर्षे कार्यकाल अर्को महिना सकिँदैछ । २०७३ सालको भदौ २९ गते मन्त्रिपरिषद् बैठकबाट प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएका कुलमानको कार्यकाल भदौ २९ गते सकिँदैछ ।
लोडसेडिङ हटाएको, रुग्ण आयोजनाको निर्माण सम्पन्न गरेको, विद्युत चुहावट घटाएको, चरम घाटामा रहेको विद्युत प्राधिकरणलाई नाफामा लगेको लगायतका कामबाट वाहवाही पाएका कुलमानलाई सरकारले अर्को कार्यकालको लागि नियुक्त गर्ला कि नगर्ला भन्ने अड्कलबाजी पनि सुरु भएको छ ।
कुलमान घिसिङलाई अर्को ४ वर्षको लागि कार्यकारी निर्देशकमा पुनः नियुक्ती गर्नको लागि कुनै ऐन, नियम बाधक छैनन् । विभागीय मन्त्री वर्षमान पुन र प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णयमा भर पर्छ ।