उर्जामन्त्री भन्छन् : कुलमानलाई निरन्तरता दिने प्रस्ताव मन्त्रिपरिषद्मा गएकै छैन

 

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको पदममा कुलमान घिसिङलाई निरन्तरता दिने भनेर विभिन्न सञ्चारमाध्यममा समाचार आएपछि उर्जा मन्त्रालयले यसबारेमा आफ्नो प्रतिक्रिया दिएको छ ।

ऊर्जामन्त्री वर्षमान पुनले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई निरन्तरता दिनेबारे मन्त्रालयबाट हालसम्म कुनै प्रस्ताव लगिनसकेको बताएका छन् ।

विभिन्न सञ्चारमाध्यमसहित सामाजिक सञ्जालमा कुलमान फेरि विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएको हल्ला फैलिरहेकै बेला मन्त्री पुनले यसबारे मन्त्रिपरिषद्मा मन्त्रालयबाट कुनै प्रस्ताव नगएको जानकारी गराएका हुन् । आज बस्ने मन्त्रिपरिषद बैठकले घिसिङलाई नै विद्युत प्राधिकरणको प्रमुख पदमा निरन्तरता दिने निर्णय गर्ने भन्दै यसअगाडी समाचार प्रकाशित भएको थियो ।

प्रस्ताव नगएको अबस्थामा प्रधानमन्त्रीले सिधै प्रस्ताव ल्याएर निर्णय हुन सक्छ तर त्यस्तो संभावना नदेखिएको उर्जा मन्त्रालयका एक अधिकारीले बताए ।

त्यस्तै बालुवाटार स्रोतले पनि आजको क्याविनेटमा सो एजेण्डा नभएको बताएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साँझ बैठक सुरु भएको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकरी गराएका छन् ।

यो नियमित बैठक हो । कोरोना संक्रमणको जोखिम बढिरहेकोले रोकथाम तथा नियन्त्रण सम्बन्धी महत्वपूर्ण निर्णय हुनसक्ने बुझिएको छ ।

जनस्तरबाट कुलमानलाई नेपाल विद्युत प्राधिकरणमा निरन्तरता चर्को दवाव परिरहेको छ । ४ वर्षअगाडी नियुक्त भएका कुलमान घिसिङ्गको कार्यकाल अब केही दिन बाँकी रहँदा कार्यकारी निर्देशक हुन धेरैको दौडधुप रहेको समाचार यसअगाडी नै प्रकाशित भैसकेका छन् ।

लामो समय लोडसेडिङको समस्या संग जुधिरहेको नेपाललाई कुलमानले प्राधिकरणको नेतृत्व सम्हालेपछि उज्यालो नेपालमा परिणत गरेका थिए । घिसिङको कार्यकाल सकिन लाग्दा आम जनताले सरकारलाई पुन कार्यकालको अवधि थप्न माग गर्दै समाजिक सञ्जाल लगायतका माध्यमबाट आवाज उठाई रहेका छन् ।

* यसअगाडी अन्यथा भएकाले सच्चाइएको छ ।

 

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस