दलितसँग बिवाह गरेको भन्दै बुवाको शव छुन दिइएन, गाउँबाट निकाला

ताप्लेजुङ । जन्म दिने बाबुको निधनले धरधरी आँसु झरिरहेका बेला कसैले मृत शरीरलाई हेर्न र छुन मात्रै नभई दाहसंस्कारमा नै सहभागी हुन दिँदैनौँ भन्दा शोकमा डुबेका मानिसलाई कति पीडा हुँदो हो ।

त्यही पीडादायी परिस्थितिमा ‘हाम्रो कुल वंशबाट नै निकालिएको, तँ तल्लो जाति’ को भनेर आफ्नै दाजुभाइले नानाथरी गाली गरेर घचेट्दा कति मन जल्दो हो । यस्तो परिस्थितिको कल्पना गर्न पनि सकिन्न ।

तर यस्तै पीडादायी परिस्थितिले छटपटाएर न्यायको खोजीमा ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–४ साब्लाखुका राजिन्द्र बुढाक्षेत्री सदरमुकाम फुङलिङ आएको केही दिन बित्यो ।

समाजमा अहिले दलित समुदाय र अन्य जातिबीच जातीय भेदभाव कायमै छ । दलित समुदायका छोरीचेली विवाह गरेकै कारण आफ्ना दाजुभाइ र समाजबाट बहिस्कारमा परेका थुप्रै उदाहरणमध्ये बुढाक्षेत्री पनि एक हुन ।

गाउँमा सानैदेखि चिनजानमा रहेकी विश्वकर्मा थरकी महिलासँग प्रेमपछि वैवाहिक सम्बन्धमा जोडिएका राजिन्द्र त्यसबेलादेखि नै गाउँ समाजबाट एक्लो भए । विसं २०६० सालमा उनीहरुबीच विवाह भएको थियो । विवाहपश्चात् घरबाट अन्यत्रै छुट्टिएर बसेका राजिन्द्रको परिवार समाजको नजरबाट टाढै बने पनि आफ्नै दुनियाँमा रमाउँदै आयो ।

यत्तिकैमा गएको साउन १० गते अचानक बिरामी परेका आफ्ना बाबुले घरमा बोलाएर उपचारमा लैजानू भनेपछि राजिन्द्र उपचारका लागि बाबुलाई लिएर झापाको विर्तासिटी अस्पताल पुगे।

केही दिन अस्पतालमा बसेपछि बाबुलाई केही सञ्चो भए जस्तो देखियो र बिरामी परेका बाबुले नै घर लैजानू भनेपछि साथमा लिएर साउन १७ गते राजिन्द्र घर फर्किए ।

घर आइपुगेको भोलिपल्ट साउन १८ गते नै पुनः बुबा सिकिस्त बिरामी परे । सिकिस्त बिरामी परेपछि बाबुको बैतर्नी गर्ने निधो भयो । उक्त समयमा एकाघरका दाजु प्रेम बुढाक्षेत्रीले ‘तिमीहरु छोराछोरीसहित परिवारै घर जानु, यहाँ बस्दा बिटुलो हुन्छ, अशुद्ध हुन्छ, तिमीहरु अछूत कामी जातका मानिस हौ र तिमीहरुलाई हाम्रो बुढाक्षेत्रीको कुल परिवारबाट हामीले बहिस्कार गरिसकेका छौँ’ भनेर आफुलाई त्यहाँ बस्न वञ्चित गरेको राजिन्द्रले बताए । त्यही दिन दिउँसो साढे १ बजे राजिन्द्रका बुबा बिते ।

मृत्युपछि परिवार शोकमा डुब्यो । अरु दाजुभाइ छरछिमेक सबै भेला भए । सँगैमा अरु सबैले मृत शरीर नजिक गएर हेरे, रोए कराए तर राजिन्द्र, उनकी श्रीमती फुलमाया र उनीहरुका छोराछोरीलाई नजिक जानसमेत वञ्चित गराइयो ।

दाहसंस्कारका लागि शव उठाउन तयार हुँदासम्म राजिन्द्रले आफ्ना मृत बाबुको शरीर छुन पाएनन् ।

दाहसंस्कारका लागि घाटमा शव उठाएर लैजाने बेला भएको थियो । नाताले काका पर्ने रामबहादुर बुढाक्षेत्रीले समाजको अघि आएर ‘तिमीहरु अछूत कामी जातका मानिसहरुलाई क्षेत्रीको हुद्दामा आउन दिँदैनौँ, तिमीहरुले घाटमा जान, केस काट्न, काजक्रिया गर्न पाउँदैनौ’ भने । “मलाई पीडामाथि पीडा थोपरियो, चुप लागेर बस्नुबाहेक मसित कुनै विकल्प थिएन”, राजिन्द्रले भने ।

प्रतिक्रिया दिनुहोस