म एक्लैले लोडसेडिङ हटाएको हैन : कुलमान घिसिङ

सामाजिक सञ्जाल कुलमान घिसिङले नेपाल विद्युत प्राधिकरणमा पुन: नियुक्ति पाउनुपर्छ भने जोडतोडका साथ आवाज उठ्न थालेपछि उनले यसबारेमा मुख खोलेका छन् ।

घिसिङले बिहीबार साँझ एक विज्ञप्ति निकालेर सामाजिक सञ्जालमा भईरहेका बहसबारे आफ्नो धारणा राखेका हुन् ।

उनले आफ्नो अर्को कार्यकालको पुन: नियुक्तिका विषयलाई लिएर प्रधानमन्त्री, ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री र आफूलाई जोडेर आधार तथा तथ्यहीन गलत सूचना र समाचार सम्प्रेषण भईरहेको भन्दै गलत प्रसार नगरिदिन सबैमा आग्रह गरेका छन् ।

उनले भनेका छन्– ‘मेरो ४ वर्षे कार्यकाल सकिनै लाग्दा अर्को कार्यकालका लागि पुनर्नियुक्तिको विषयलाई लिएर सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीज्यू र ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री माननीय वर्षमान पुनज्यूलाई जोडेर बिगत केही दिनदेखि विभिन्न संचार माध्यम, सामाजिक संजाल र मेरो गलत एकाउन्ट खडा गरी सम्प्रेषण भइरहेका भ्रामक समाचार तथा सूचनाप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ ।

मेरो अर्को कार्यकालको पुन: नियुक्तिका विषयलाई लिएर सम्माननीय प्रधानमन्त्री, माननीय ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री र मलाई जोडेर आधार तथा तथ्यहीन गलत सूचना तथा समाचार सम्प्रेषण नगरिदिनु हुन अनुरोध गर्दछु।’

उनले नेपाल विद्युत प्राधिकरण नेपाल सरकारको पूर्ण स्वामित्वको संस्था भएकाले प्रधानमन्त्री नेतृत्वको सरकारको निर्देशन एवं मार्गदर्शन र नीती तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन मार्फत यस अवधिमा केही उल्लेखनीय उपलब्धीहरु हासिल भएको उल्लेख गरेका छन् ।

उनले विज्ञप्तिमा भनेका छन्- ‘लोडसेडिङको अन्त्य गरी उज्यालो नेपाल बनाउन, वित्तीय तथा प्रशासनिक सुधार गरी प्राधिकरणलाई नाफामूलक, सबल, सक्षम तथा प्रतिश्पर्धी संस्था बनाउन सम्माननीय प्रधानमन्त्री र माननीय ऊर्जा मन्त्रीको निर्देशन एवं मार्गदर्शन, प्रशासनिक संयन्त्र, अहोरात्र खटिने कर्मचारीहरु र आम उपभोक्ताको निरन्तरको सहयोग र हौसला नपाएको भए एकजना व्यक्तिको प्रयासबाट मात्रै लोडसेडिङको अन्त्य, संस्थालाई मुनाफामा लैजाने लगायतका उपलब्धीहरु हासिल गर्न सम्भव थिएन।’

 

प्रतिक्रिया दिनुहोस