कुलमानलाई निरन्तरता दिनेगरि प्रस्ताव तयार, प्रधानमन्त्री ओली सकारात्मक !

काठमाडौं, १४ भदौ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङलाई निरन्तरता दिनेगरि विभागीय मन्त्री उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले प्रस्ताव तयार पारेका छन् । यही भदौ २९ गतेबाट घिरिङको कार्यकाल सकिँदैछ । तर, उनको पक्षमा सामाजिक सञ्जालदेखि जनस्तरसम्म व्यापक माहोल देखिएपछि प्रधानमन्त्री केपी शर्मा ओली पनि उनलाई निरन्तरता दिन सकारात्मक देखिएका छन् ।

यसअघि सरकारका प्रवक्ता डा. युवराज खतिवडाले घिसिङलाई निरन्तरता नदिने संकेत गरेका थिए । उनले सामाजिक सञ्जालले घिसिङलाई नियुक्ती दिएको भए अर्कै कुरा नत्र सरकारले नियुक्त गरेको छैन भन्ने जवाफ दिएका थिए ।
स्रोतकाअनुसार उर्जामन्त्री पुनले यसअघि घिसिङको बारेमा नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि परामर्श गरेका थिए ।

दाहाल त सुरुदेखि नै घिसिङलाई नै उक्त पदमा निरन्तरा दिनुपर्ने पक्षमा छन् । पुनले पनि दाहालकै निर्देशनबमोजिम घिसिङलाई निरन्तरता दिनेगरि प्रस्ताव तयार पारेका छन् । आज मन्त्रिपरिषदको बैठक बसिरहेको छ । सम्भवतः आजकै बैठकमा घिसिङलाई निरन्तरता दिनेबारे प्रस्ताव लगिएको स्रोतको दाबी छ ।

प्रतिक्रिया दिनुहोस